रसुवा, नुवाकोट र धादिङका प्रायः सबै ठाउँमा नेपाल टेलिकम र एनसेलको सेवा पुनःसञ्चालन

काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढी र पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अधिकांश स्थानमा नेपाल टेलिकम र एनसेलको दूरसञ्चार सेवा पुनःसञ्चालनमा आएको छ।

बाढीपहिरोका कारण क्षतिग्रस्त टावर तथा साइट मर्मत र पुनःस्थापना गरेपछि मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो। बाढीपछि विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै कतिपय टावरका उपकरण तथा पूर्वाधारमा क्षति पुगेकाले दूरसञ्चार सेवा प्रभावित भएको थियो।

सेवा पुनःसञ्चालनका लागि दुवै कम्पनीले आवश्यक जनशक्ति, उपकरण, जेनेरेटर र इन्धन प्रभावित क्षेत्रमा पुर्‍याएका थिए। कतिपय स्थानमा आवश्यक उपकरण र इन्धन हेलिकोप्टरबाट समेत ढुवानी गरिएको थियो।

नेपाल टेलिकमका अनुसार धादिङ, नुवाकोट र रसुवाका अधिकांश साइट सञ्चालनमा आइसकेका छन्। धादिङतर्फ अग्निचोक, बैरेनी–१ थामेल डाँडा, बुढाथुम, छत्रेदेउराली, धुस्सा पृथ्वी राजमार्ग, धुवाकोट, गजुरी, गजुरी–२, गोगनपानी, गुम्दी, जीवनपुर, जोगिमारा, ज्यामरुङ, करिगाउँ, कटुञ्जे, किरान्चोक, कुम्पुर, महादेवबेँसी, मलेखु, नालाङ, नौबिसे, थाक्रे, रानीबारीलगायतका साइटबाट सेवा सञ्चालन भइरहेको छ।

नुवाकोटतर्फ बालकुमारी, बट्टार, विदुर, चौगडे, दुईपिपल, घ्याङफेदी, ककनी, चारघरे, खरानीटार, मदनपुर, नुवाकोट दरबार, ओखरपौवा, रानीपौवा, गर्खु, जिलिङ, कल्याणपुर, सामरी भञ्ज्याङ, सुनखानी, टुप्चे, छापथोके, चारघरे मुलाबारीलगायतका साइट सञ्चालनमा आएका छन्।

रसुवातर्फ धुन्चे, पाङसाङडाँडा, गोलजुङ, जिम्बाङ, रसुवा बोर्डर, सरमथली, कालिकास्थान, भौनबेँसी, जिबजिबे, जिबजिबे न्यू, माथिल्लो स्याङ्जेन, गोसाइँकुण्ड, क्याङ्जिन लाङटाङलगायतका साइटबाट सेवा सञ्चालन भइरहेको टेलिकमले जनाएको छ।

यस्तै मनकामना डाँडा, गोलजुङ–१, धादिङ कार्यालय, धुन्चे आर्मी क्याम्प माइक्रो, नौबिसे काफ्लेचौर, ककनी एपीएफ माइक्रो बीटीएस, गल्छी माइक्रो, त्रिशूली–३ ‘ए’/‘बी’, तासरपु, शिखरहेल, बज्रबाराही–२ र दाँडाखर्कालगायतका साइट पनि सञ्चालनमा आएका छन्।

नेपाल टेलिकमका केही साइट भने अझै सञ्चालनमा आउन सकेका छैनन्। बेनीघाट रोराङ, गल्छी, शिवपुरी, तारकेश्वर, विदुर, किस्पाङ र गोसाइँकुण्डलगायतका पालिकामा कम्तीमा एक–एक टावर अझै बन्द रहेको टेलिकमले जनाएको छ।

एनसेलका पनि बाढीपहिरोबाट प्रभावित अधिकांश साइट सञ्चालनमा आएका छन्। कम्पनीका अनुसार जुगेटार, धुन्चे, बट्टार, पिपलटार, विदुर, गोलजुङ, महामण्डल, बट्टार बजार, भूमिडाँडा, खाल्टे, सुनौला बजार, सिबालय डाँडा, खाल्चेत भञ्ज्याङ, देउराली र कालिकास्थानका साइट सञ्चालनमा छन्।

त्यसैगरी चुली (कडेनी), चौर्तोल, दुईपिप्ले–कोल्टाक, बहुडाँडा र माने डाँडाबाट पनि सेवा सञ्चालन भइरहेको छ। एनसेलका रसुवागढी, तिरु र त्रिशूली साइट भने पूर्वाधारमा क्षति पुगेका कारण अझै बन्द छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार