काठमाडौं। नेपाल राष्ट्र बैंकले प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवा कुनै पनि अवस्थामा लामो समय अवरुद्ध हुन नदिन बैंक तथा वित्तीय संस्थाहरूलाई विशेष निर्देशन दिएको छ।
रसुवालगायत क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले बैंकका कार्यालय, सञ्चार, विद्युत् तथा यातायात पूर्वाधारमा समेत क्षति पुर्याएपछि केन्द्रीय बैंकले वैकल्पिक स्थान र माध्यमबाट सेवा निरन्तर सञ्चालन गर्न सहजीकरण गरेको हो।
राष्ट्र बैंकले भदौ १३ गते जारी गरेको प्रेस विज्ञप्तिमा प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवाको निरन्तरता सुनिश्चित गर्न विद्युतीय माध्यम तथा वैकल्पिक स्थानबाट कारोबार सञ्चालन गर्न सकिने स्पष्ट पारेको छ।
यस व्यवस्थाले कार्यालय वा शाखा सञ्चालन गर्न नसकिने अवस्थामा समेत मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल भुक्तानी र नजिकका वैकल्पिक सेवा केन्द्रमार्फत नागरिकलाई अत्यावश्यक वित्तीय सेवा उपलब्ध गराउने बाटो खुला गरेको छ।
विपत्तिका समयमा बैंकिङ सेवा अवरुद्ध हुँदा प्रभावित नागरिकले राहत रकम निकाल्न, आफन्तबाट पठाइएको पैसा प्राप्त गर्न, खाद्यान्न तथा औषधिको भुक्तानी गर्नसमेत कठिनाइ भोग्नुपर्ने हुन्छ। यही संवेदनशीलतालाई ध्यानमा राख्दै राष्ट्र बैंकले सेवा निरन्तरतालाई उच्च प्राथमिकतामा राखेको देखिन्छ।