रसुवाको बाढीपछि विभिन्न बैंकमा कार्यरत २६ जना सम्पर्कविहीन (सूचीसहित)

काठमाडौं । रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा आएको भीषण बाढीपछि विभिन्न बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएका छन् । बाढीपछि आठवटा बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारी सम्पर्कविहीन भएको भन्दै खोजीका लागि सार्वजनिक अपिल गरेका छन् । सम्बन्धित बैंकहरूले सूचना जारी गर्दै सम्पर्कविहीन कर्मचारीको अवस्थाबारे जानकारी भए उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का कर्मचारी गोपाल महर्जन गोसाइँकुण्ड जाने क्रममा नुवाकोटको बेत्रावतीबाट बिहान करिब ९ः१५ बजेपछि सम्पर्कविहीन भएका छन् । त्यस्तै, मुक्तिनाथ विकास बैंकका नयाँ बानेश्वर शाखाकी बिजेटा अवाले र माछापोखरी शाखाकी सुन्दरी श्रेष्ठ पनि सोही क्रममा सम्पर्कविहीन भएका छन् ।

ग्लोबल आइएमई बैंकको टिमुरे शाखामा कार्यरत फूर्पा मोक्तान बाढीपछि सम्पर्कविहीन भएका छन् । प्रभु बैंकका टिमुरे शाखाका किशोर गौली, स्याफ्रुबेँसी शाखाकी नवाङ तामाङ तथा सुरक्षागार्डहरू नुरसाङ तामाङ र नेत्रप्रसाद रोकाया पनि सम्पर्कविहीन रहेको बैंकले जनाएको छ । सानिमा बैंकका टिमुरे शाखामा कार्यरत सुभद्रा न्यौपाने र बुढा साङ घलेको समेत अवस्था अज्ञात रहेको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) का स्याफ्रुबेँसी शाखाका शिवप्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङ्जेन तामाङ र भीमबहादुर खड्का, टिमुरे शाखाकी डोल्मा लामा तथा मैलुङ एक्सटेन्सन काउन्टरका मुकेश खड्का सम्पर्कविहीन छन् । माछापुच्छ्रे बैंकका टिमुरे शाखामा कार्यरत भीमप्रसाद मेजु, अनुज नेपाल, सबिन महर्जन, पुनम ठाकुर र मिङ्मा तामाङ पनि सम्पर्कमा नरहेको बैंकले जनाएको छ ।

यसैगरी, एनएमबि बैंकको टिमुरे शाखाका धर्मराज रिमाल, नवीन गौतम, सुभाष रावल र अर्जुन पण्डित पनि सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन कर्मचारीहरूलाई कसैले भेटेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए सम्बन्धित बैंकका नजिकका शाखा वा बैंकहरूले सार्वजनिक गरेका सम्पर्क नम्बरमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार