काठमाडौं । चालु आर्थिक बर्ष २०८३–८४ को पहिलो महिना साउनमा नेपालको सार्वजनिक ऋण पाँच अर्ब तीन करोड रूपियाँले घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज सार्वजनिक गरेको साउन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
गत असार मसान्तसम्म सार्वजनिक ऋणको आकार २९ खर्ब ८१ अर्ब ६८ करोड ८६ लाख रूपियाँ थियो । साउन मसान्तसम्म आउँदा त्यो २९ खर्ब ७६ अर्ब ३३ करोड ७४ लाख रूपियाँमा सीमित भएको छ ।
मूख्यतः विदेशी विनिमय दरमा भएको नाफाले ऋण घटाउन सहयोग पुगेको देखिन्छ । समीक्षा महिनामा सरकारले २३ अर्ब २९ करोड ८० लाख रूपियाँ ऋण लिएको छ । त्यसमा २० अर्ब ६ करोड ७५ लाख रूपियाँ ऋण भुक्तानी गरिएको छ । तर, विदेशी मुद्राको मूल्यमा आएको कमीका कारण विदेशी ऋणको दायित्व आठ अर्ब ५८ करोड १७ लाख रूपियाँले घटेको छ । त्यसले गर्दा कुल सार्वजनिक ऋणको आकार २९ खर्ब ७६ अर्ब ३३ करोड ७४ लाख रूपियाँमा सीमित भएको छ ।
यद्यपि, यो ऋण रकम आफैमा धेरै हो । यो जीडीपीको तुलनामा ४५.१० प्रतिशत हो ।
यसपाली सरकारले धेरै भुक्तानी गरेर भन्दा पनि विदेशी मुद्राको मूल्यमा आएको कमीले दायित्व घटाएको हो । यसमा खुसी नै हुनुपर्ने अवस्था नभएको कार्यालयका कर्मचारीहरु बताउँछन् । साँवा भुक्तानी गरेर दायित्व घटेमा भने त्यो दीर्घकालिन हुने उनीहरु बताउँछन् ।
समीक्षा अवधिमा आन्तरिक ऋणको आकार १३ खर्ब ७७ अर्ब ५० करोड १९ लाख रूपियाँ पुगेको छ । गत असारसम्म यस्तो ऋणको आकार १३ खर्ब ७५ अर्ब ४१ करोड ५९ लाख रूपियाँ थियो । त्यसमा साउनमा सरकारले २० अर्ब रूपियाँ आन्तरिक ऋण लिँदा १७ अर्ब ९१ करोड ४० लाख रूपियाँ साँवा भुक्तानी गरेको छ । यसो हुँदा आन्तरिक ऋणको आकार १३ खर्ब ७७ अर्ब रूपियाँ माथि पुगेको हो ।
विदेशी विनिमय दरमा आएको नाफाले विदेशी ऋणको आकार घटेको छ । असार मसान्तसम्म विदेशी ऋणको आकार १६ खर्ब ६ अर्ब २७ करोड २७ लाख रूपियाँ थियो । समीक्षा महिनामा सरकारले तीन अर्ब २९ करोड ८० लाख रूपियाँ विदेशी ऋण लिएको छ । त्यससँगै दुई अर्ब १५ करोड ३५ लाख रूपियाँ विदेशी ऋण भुक्तानी पनि गरिएको छ । त्यसमा विदेशी मुद्राको मूल्यमा आएको कमीले विदेशी ऋणको दायित्व आठ अर्ब ५८ करोड १७ लाखले घट्दा यसको आकार १५ खर्ब ९८ अर्ब ८३ करोड ५५ लाख रूपियाँमा सीमित भएको छ । विदेशबाट ल्याएको ऋण विदेशी मुद्रामै भुक्तानी गर्नुपर्छ । त्यो अवस्थामा विदेशी मुद्राको मूल्य बढ्दा दायित्व बढ्ने र मूल्य घट्दा दायित्व पनि घट्ने हुन्छ । गत आवमा विदेशी मुद्राको मूल्य बढ्दा एक खर्ब ६७ अर्ब रूपियाँले दायित्व बढेको थियो । तर, साउनमा डलर लगायतका विदेशी मुद्राको मूल्य घट्दा विदेशी ऋणको दायित्व घटेको छ ।