काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो ३४–३५ दिनमा एक खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको दाबी गरे पनि सेयर बजारबाट प्राप्त हुने पुँजीगत लाभकरमा संकुचन आएको छ । विशेष गरेर सेयर बजारमा आएको मन्दी र लगानीकर्ताको सम्पत्तिमा भएको ह्रासका कारण सरकारले धितोपत्र कारोबारबाट प्राप्त गर्ने पुँजीगत लाभकर (क्यापिटल गेइन ट्याक्स) ह्वात्तै घटेको हो ।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा दुई अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा यो ७१.०४ प्रतिशतले घटेर ६२ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ ।
नाफामा मात्र लाभकर लाग्ने र नोक्सानीमा कर तिर्नु नपर्ने कानुनी व्यवस्था छ । यही कारण लगानीकर्ताले घाटा सहेर भए पनि सेयर बिक्री गरिरहेका र अर्कोतर्फ समग्र बजारको कारोबार रकम (टर्नओभर)मा संकुचन आएकाले सरकारी राजस्व संकलनमा धक्का लागेको हो ।
तुलनात्मक रूपमा गत वर्ष पनि वार्षिक पुँजीगत लाभकर करिब ३७.४३ प्रतिशत अर्थात् ६ अर्ब ९ करोडभन्दा बढीले घटेर १० अर्ब ३५ करोड १६ लाख रुपैयाँमा सीमित हुन पुगेको थियो । धितोपत्र बजारमा एकातर्फ घाटाको कारोबारले लगानीकर्ताको सम्पत्ति रित्तिँदै गएको छ, अर्कोतर्फ उक्त शीर्षकबाट हुने सरकारको राजस्व खुम्चिरहेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांकबाट देखिन्छ ।