काठमाडौँका निजी होस्टेललाई मापदण्ड सुधार्न एक महिनाको समय, नमाने शिलबन्दी गरिने

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले निजी क्षेत्रबाट सञ्चालनमा रहेका छात्रावास (होस्टेल) हरूलाई सञ्चालनसम्बन्धी निर्धारित मापदण्ड कार्यान्वयन गर्न एक महिनाको समय सीमा तोकेको छ।

तोकिएको अवधिभित्र आवश्यक सुधार नगर्ने सञ्चालकमाथि प्रचलित कानुनअनुसार कारवाही गरिने प्रशासनले स्पष्ट पारेको छ।

विद्यार्थीमाथि दुर्व्यवहार, महँगो शुल्क, कमजोर भौतिक संरचना, अस्वस्थकर खानपान तथा सरसफाइ र होस्टेलमा लागुऔषध तथा मादक पदार्थको प्रयोगसम्बन्धी गुनासा बढेपछि प्रशासनले सञ्चालन व्यवस्थापनलाई व्यवस्थित बनाउन २१ बुँदे निर्देशन जारी गरेको हो।

अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालन भएका केही होस्टेलमाथि प्रशासनले आर्थिक जरिवानादेखि शिलबन्दीसम्मको कारबाही गरिसकेको जनाएको छ। केही स्थानमा होस्टेलभित्रै भएको विवाद तथा झडपका कारण विद्यार्थीको ज्यान गएको घटनासमेत देखिएकाले सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखिएको प्रशासनको भनाइ छ।

निर्देशनअनुसार अब होस्टेल सञ्चालकले सम्बन्धित निकायमा अनिवार्य दर्ता तथा नवीकरण गर्नुपर्नेछ। विद्यार्थीबाट लिइने शुल्क तथा अन्य दररेट सार्वजनिक रूपमा स्पष्ट देखिने गरी राख्नुपर्ने र प्रकाशित विवरणअनुसार मात्र रकम असुल गर्नुपर्ने व्यवस्था गरिएको छ।

विद्यार्थी र सञ्चालकबीच लिखित सम्झौता गर्नुपर्नेछ। घरधनीको भवन भाडामा लिएर होस्टेल सञ्चालन गरिएको अवस्थामा सञ्चालक र घरधनीबीच समेत औपचारिक भाडा सम्झौता अनिवार्य गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार