काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनतालाई त्रास र डरमा राख्ने काम गरिरहेको आरोप लगाएका छन्।
नगरकोटमा आयोजित जनसंगठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै सरकार कसैलाई बदनाम गर्ने, जेल हाल्ने, सम्पत्ति जफत गर्ने तथा बैङ्क खाता रोक्का गर्नेजस्ता काममार्फत आर्थिक रूपमा सङ्कटमा पार्ने षड्यन्त्रमा केन्द्रित भएको दाबी गरे।
‘सरकार बनेको दिन पहिलो निर्णय केपी ओलीलाई समाउने भन्ने गरेर रातभर लगाएर बिहानपख गिरफ्तार गर्यो। मलाई गिरफ्तार किन गरेको भने,’ उनले थप प्रष्ट पार्दै भने, ‘उसलाई थाहा छ मैले यस्ता बारुला मात्रै होइन, कति अरिंगाल, कति बच्छ्यूँ खाएको छ। त्यसकारण म यी बारुलासँग म डराउँछु भन्ने कुरा उनीहरूलाई पनि थाहा छैन।’
उनले सरकारलाई ‘बारुला’ को संज्ञा दिँदै आफू नडराउने जिकिर गरे।
‘सम्बोधनको क्रममा थप भनेका छन्, ‘केपी ओलीलाई त समाइयो अरुलाई के हो र ? भनेर थर्कमान गराउन मलाई समाइयो। यी बारुलासँग डराएर हामीले देश सधैं यिनीहरूका जिम्मा लगाउन सकिंदैन। आजको आवश्यकता हो, प्रतिगमनबाट देश फर्काउनू, प्रतिगनकारीहरूलाई पराजित गर्नू, अपहरित लोकतन्त्र फिर्ता ल्याउनू, मिचिएको संविधानलाई मिच्न नदिनू र फेरि ल्याउनू। सुशासन र विकासको बाटोमा फेरि देशलाई ट्र्याकमा ल्याउनू हो।’