अमेरिकाको राष्ट्रिय ऋण पहिलोपटक ४० ट्रिलियन डलर नाघ्यो

काठमाडौं । अमेरिकाको राष्ट्रिय ऋण पहिलोपटक ४० ट्रिलियन डलरभन्दा माथि पुगेको छ । पछिल्लो पाँच महिनामै अमेरिकी राष्ट्रिय ऋण एक ट्रिलियन डलरले बढेको हो । ऋण तीव्र गतिमा बढ्दै जाँदा त्यसमा तिर्नुपर्ने ब्याज र भविष्यमा सरकारी बजेटमाथि पर्ने दबाबलाई लिएर चिन्ता बढेको छ ।

बुधबार सार्वजनिक तथ्यांकअनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडेनका कार्यकालमा अमेरिकी राष्ट्रिय ऋण ऐतिहासिकस्तरमा पुगेको हो । अमेरिकी सरकारको बजेटको ठूलो हिस्सा रक्षा, सामाजिक सुरक्षा र मेडिकेयरजस्ता कार्यक्रमहरूमा खर्च हुँदै आएको अवस्थामा ऋणको बढ्दो भार थप चुनौतीका रूपमा देखिएको छ ।

ऋणमा तिर्नुपर्ने ब्याज पनि सरकारी खर्चको महत्त्वपूर्ण हिस्सा बनिसकेको बताइएको छ । पछिल्ला महिनाहरूमा अमेरिकी ऋण बढ्ने गति विशेष रूपमा तीव्र देखिएको रोयटर्सले जनाएको छ ।

अक्टोबरमा अमेरिकी राष्ट्रिय ऋण ३८ ट्रिलियन डलर नाघेको थियो । त्यसको करिब पाँच महिनापछि मार्चमा यो ३९ ट्रिलियन डलर पुगेको थियो । अहिले अगस्टमा ऋण ४० ट्रिलियन डलरभन्दामाथि पुगेको छ । यसको अर्थ करिब १० महिनामै अमेरिकी राष्ट्रिय ऋणमा २ ट्रिलियन डलर वृद्धि भएको हो ।

अमेरिकी अर्थ मन्त्रालयको पछिल्लो विवरणअनुसार, मंगलबारसम्म कुल सार्वजनिक ऋण ४०.०४७ ट्रिलियन डलर पुगेको थियो । यसमध्ये जनतासँग रहेको सरकारी सेक्युरिटीजको ऋण ३२.२६६ ट्रिलियन डलर र अन्तर–सरकारी ऋण ७.७८२ ट्रिलियन डलर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार