बीस वाणिज्य बैंकले कति कमाए?

काठमाडौं । गत आर्थिक बर्ष २०८२–८३ मा वाणिज्य बैंकले करिब ७० अर्ब खुद नाफा कमाएको दावी सहित वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल नेपालमा २० वाणिज्य बैंक छन् । शनिबारसम्म सबै वाणिज्य बैंकले गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । त्यसमा २० वाणिज्य बैंकको खुद नाफा ६९ अर्ब ८६ करोड ६० लाख ६२ हजार रूपियाँ देखिएको छ ।

यो अघिल्लो आव २०८१–८२ को तुलनामा ३२.२७ प्रतिशतले धेरै हो । यसपालि सार्वजनिक गरिएकै विवरण अनुसार उक्त आवमा ५२ अर्ब ८१ करोड ७५ लाख २८ हजार रूपियाँ खुद नाफा भएको थियो । बैँकहरूले २०८२ साउन महिनामा सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले आव २०८१–८२ मा खुद नाफा ७१ अर्ब ५१ करोड रूपियाँ देखाइएको थियो ।

अहिले उनै बैंकहरुले सार्वजनिक गरेको विवरणमा उक्त आवको नाफा भने ५२ अर्ब ८१ करोड ७५ लाख रूपियाँ मात्रै देखाइएको छ । यसरी करिब १९ अर्ब रूपियाँको अन्तर देखिएको छ । सम्भवतः लेखा परीक्षणको क्रममा बैंकको नाफा परिवर्तन भएको हुन सक्छ ।

त्यस अवस्थामा बैंकहरुले गत आवका लागि दावी गरेको खुद नाफा पनि कति वास्तविक छ भन्नेमा प्रश्न उब्जीएको छ । अब लेखा परीक्षणकै क्रममा बैंकहरुको वास्तविक नाफा पत्ता लाग्नेछ । यद्यपि, कर्जा माग नभएर करिब शिथिल अवस्थामा रहेको बैंकहरुको खुद नाफा भने सन्तोषजनक मानिएको छ । यद्यपि, प्रभु बैंक भने घाटामा छ ।

समीक्षा बर्षमा सबै भन्दा धेरै नाफा नविल बैंकले कमाएको छ । उक्त बैंकले सात अर्ब ९० करोड ५७ लाख ९६ हजार रूपियाँ खुद नाफा कमाएको छ ।

दोस्रो नम्बरमा कुमारी बैंक छ । उक्त बैंकले सात अर्ब ३८ करोड ७१ लाख ९७ हजार रूपियाँ नाफा कमाएको छ । विगतका बर्षमा औसत नाफा कमाउँदै आएको कुमारीले यसपालि चमत्कारिक वृद्धि गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले छ अर्ब २२ करोड ७१ लाख ५६ हजार रूपियाँ नाफा कमाएको छ ।

यस्तै, एभरेष्ट बैंकले पाँच अर्ब छ करोड ९९ लाख ३६ हजार, राष्ट्रिय वाणिज्य बैंकले चार अर्ब ५५ करोड ६८ लाख ९१ हजार, नेपाल बैंकले चार अर्ब ५० करोड एक लाख ९९ हजार, प्राइम कमर्शियल बैंकले चार अर्ब ११ करोड २५ लाख ६८ हजार, एनएमबी बैंकले चार अर्ब एक करोड ३६ लाख ७१ हजार र सानिमा बैंकले तीन अर्ब ५५ करोड एक लाख ४४ हजार रूपियाँ खुद नाफा कमाएको छन् ।

यस्तै, सिद्धार्थ बैंकले तीन अर्ब ५१ करोड ९४ लाख नौ हजार, लक्ष्मी सनराइज बैंकले तीन अर्ब ११ करोड ७१ लाख ३१ हजार, स्टयान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ८५ करोड दुई लाख १० हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दुई अर्ब ७४ करोड ७२ लाख १६ हजार, कृषि विकास बैंकले दुई अर्ब ६३ करोड ६ लाख ४१ हजार, माछापुच्छ्रे बैंकले दुई अर्ब ११ करोड ४१ लाख २० हजार र सिटीजन्स बैंकले दुई अर्ब नौ करोड ८६ लाख तीन हजार रूपियाँ खुद नाफा कमाएका छन् ।

नेपाल एसबीआई बैंकले दुई अर्ब चार करोड ४३ लाख ३० हजार र हिमालयन बैंकले एक अर्ब ४८ करोड तीन लाख ८५ हजार रूपियाँ र एनआईसी एसिया बैंकले १८ करोड १७ लाख दुई हजार नाफा कमाएको छन् । अघिल्लो आवमा तीन अर्ब ८७ करोड २० लाखले घाटामा रहेको यो बैंक अहिले नाफामा आएको छ । तर, प्रभु बैंक २४ करोड १२ लाख ४३ हजार रूपियाँले घाटामा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार