काठमाडौं । प्रभु बैंक लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २४ करोड १२ लाख रुपियाँ खुद घाटामा गएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ८७ करोड २३ लाख रुपियाँ खुद नाफा कमाएको थियो । बैंक घाटामा गए पनि खुद ब्याज आम्दानीमा भने सुधार भएको छ । गत आवको चौथो त्रैमाससम्म बैंकले ९ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ७ अर्ब १९ करोड रुपियाँ थियो ।
यता, बैंकको खुद सञ्चालन आम्दानी घटेको छ । अघिल्लो आवमा ८ अर्ब १६ करोड रुपियाँ रहेको खुद सञ्चालन आम्दानी गत आवमा घटेर ७ अर्ब ७२ करोड रुपियाँमा सीमित भएको छ । सञ्चालन मुनाफा पनि १ अर्ब ८५ करोड रुपियाँबाट घटेर १ अर्ब ५९ करोड रुपियाँमा झरेको छ ।
२३ अर्ब ५४ करोड रुपियाँ चुक्तापुँजी रहेको बैंकको रिटेन्ड अर्निङ ६ अर्ब ३१ करोड रुपियाँले ऋणात्मक रहेको छ । बैंकको रिजर्भ भने १२.९८ प्रतिशतले वृद्धि हुँदै १५ अर्ब ९४ करोड रुपियाँ पुगेको छ । वितरणयोग्य मुनाफा पनि ६ अर्ब ३१ करोड रुपियाँले ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा अनुपातमा भने उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आवमा ७.०१ प्रतिशत रहेको खराब कर्जा अनुपात गत आवमा बढेर १५.५५ प्रतिशत पुगेको छ ।