इरानको डरले ट्रम्पले ‘नाटक’ गरेको खुलासा 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो महिना टर्कीबाट बेलायत जाने क्रममा गोप्य रूपमा एउटा सानो सैन्य विमान प्रयोग गरेको खुलासा भएको छ । इरानबाट ट्रम्पको हत्या गर्ने धम्की आएपछि उनको यात्राको सम्पूर्ण योजना परिवर्तन गरिएको अमेरिकी अखबार वासिङटन पोस्टको रिपोर्टमा उल्लेख छ ।

टर्कीको राजधानी अंकाराबाट प्रस्थान गर्ने क्रममा ट्रम्प पुरानो एयरफोर्स वानमा सवार भएका क्यामेरामा देखिएको थियो । त्यसपछि उनलाई विमानस्थलमा सामान र खाना पुर्‍याउने केटरिङ गाडीमार्फत गोप्य रूपमा सानो सैन्य विमान सी–३२ए सम्म पुर्‍याइएको थियो ।

ट्रम्प जुलाई ८ मा नेटो सम्मेलनमा सहभागी हुन अंकारा पुगेका थिए । उनी कतारबाट उपहारप्राप्त नयाँ बोइङ ७४७–८ विमानबाट त्यहाँ गएका थिए ।

फर्कने क्रममा उनले आफू पुरानो, हल्का निलो रङको एयरफोर्स वानबाट बेलायत जाने बताएका थिए । उनी त्यही विमानमा सवार पनि भएका थिए । पुरानो विमानबाट यात्रा गर्नुको कारणबारे ट्रम्पले विगतका दिनहरूको सम्झनामा त्यसो गर्न लागेको बताएका थिए ।

कतारबाट प्राप्त नयाँ विमान पनि बेलायतको आरएएफ मिल्डेनहल एयरबेस पुगेको थियो ।

 

केटरिङ गाडीबाट पुगे अर्को विमानसम्म

वासिङटन पोस्टका अनुसार, ट्रम्प पुरानो एयरफोर्स वानमा चढेको केही बेरपछि एउटा केटरिङ गाडी त्यहाँ पुगेको थियो । यस्ता गाडी सामान्यतया विमानमा खाना तथा आवश्यक सामग्री पुर्‍याउन प्रयोग गरिन्छ ।

त्यही गाडीबाट ट्रम्पलाई विमानस्थलमा पार्क गरिएको सानो सैन्य विमान सी–३२ए सम्म गोप्य रूपमा लगिएको थियो । त्यो बोइङ ७५७ को सैन्य संस्करण हो ।

वासिङटन पोस्टले प्राप्त गरेको भिडियोमा केटरिङ गाडी पुरानो एयरफोर्स वानको नजिकबाट निस्किएर सानो विमानतर्फ जाँदै गरेको देखिएको छ । त्यसपछि सी–३२ए ट्रम्पलाई लिएर बेलायततर्फ उडेको थियो ।

पुरानो एयरफोर्स वानमा रहेका पत्रकारलाई ट्रम्प पनि सोही विमानमा यात्रा गरिरहेका छन् भन्ने लागेको थियो । ह्वाइट हाउसका केही कर्मचारीलाई समेत वास्तविक योजनाबारे जानकारी नभएको रिपोर्टमा जनाइएको छ ।

उडानका क्रममा पत्रकारलाई आफ्ना झ्यालका पर्दा तलै राख्न भनिएको थियो । अर्थात्, उनीहरूलाई बाहिर हेर्न अनुमति दिइएको थिएन । यस्तो सावधानी सामान्यतया विमान कुनै जोखिमपूर्ण क्षेत्रबाट गुज्रिरहेको अवस्थामा अपनाउने गरिन्छ ।

पछि पत्रकारले ट्रम्पलाई ‘झ्यालका पर्दा किन बन्द राख्न भनिएको थियो ?’ भनेर सोधेका थिए । ट्रम्पले जवाफ दिएका थिए, “सायद हामी एउटा खतरनाक उडानमा थियौँ ।”

 

ट्रम्प सवार सानो विमान पहिले पुगेको थियो बेलायत

ट्रम्पलाई लिएर उडेको सानो सी–३२ए विमान स्थानीय समयानुसार राति करिब १०ः२० बजे बेलायतको आरएएफ मिल्डेनहल एयरबेस पुगेको थियो । त्यसको केही मिनेटपछि पुरानो एयरफोर्स वान त्यहाँ पुगेको थियो, जसमा पत्रकारहरू सवार थिए ।

यद्यपि, सी–३२ए बाट ओर्लिएपछि ट्रम्प पुरानो एयरफोर्स वानसम्म कसरी पुगे भन्ने स्पष्ट छैन । ट्रम्पसँगै यात्रा गरिरहेका पत्रकारका अनुसार, उनी राति १०ः५६ बजे पुरानो एयरफोर्स वानको भर्‍याङबाट तल ओर्लंदै गरेको देखिएका थिए ।

ट्रम्पले पत्रकारतर्फ हात हल्लाए, तर उनीहरूसँग कुरा गरेनन् । त्यसपछि उनले अमेरिकी सैनिकलाई भेटे र कतारबाट प्राप्त नयाँ विमानतिर लागे ।

 

पहिले पनि अपनाइएको थियो यस्तो तरिका

राष्ट्रपतिलाई सम्भावित खतराबाट जोगाउन वास्तविक यात्रा लुकाउने वा भ्रम सिर्जना गर्ने तरिका नयाँ भने होइन ।

सन् २००० मा राष्ट्रपति बिल क्लिन्टन पाकिस्तान गएका थिए । त्यति बेला उनलाई एउटा सरकारी विमानबाट पठाइएको थियो । उनको वास्तविक एयरफोर्स वान भने अर्कै बाटोबाट पठाइएको थियो, ताकि मानिसलाई राष्ट्रपति कुन विमानमा छन् भन्ने थाहा नहोस् । एपीबाट ।

प्रतिक्रिया
सम्बन्धित समाचार