इरानले वार्ताबारे किन मिश्रित सन्देश दिइरहेको छ ? 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँग होर्मुज जलमार्गको विषयमा वार्ता भइरहेको बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतारलगायत देशहरूको आग्रहमा आफू इरानसँग वार्ता जारी राख्न सहमत भएको बताए ।

तर, इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको कुरा स्वीकार गरेको छैन । यद्यपि, इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले ओमानमार्फत होर्मुजको विषयमा छलफल भइरहेको पुष्टि गरेका छन् ।

विश्लेषकहरूका अनुसार अमेरिका र इरानले एउटै कूटनीतिक प्रक्रियालाई फरक–फरक रूपमा प्रस्तुत गरिरहेका छन् । अमेरिका यसलाई इरानसँगको वार्ता भन्छ भने इरानले यसलाई ओमानसँग समुद्री मार्गबारे भएको प्राविधिक छलफल मात्र बताउँदै आएको छ ।

 

मुख्य विवाद होर्मुज

अहिले सबैभन्दा ठूलो विवाद होर्मुजकै विषयमा छ । यस मार्गबाट जहाजको आवतजावत अझै पूर्ण रूपमा सामान्य हुन सकेको छैन । जहाजहरूमाथि आक्रमणको जोखिम पनि कायमै छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार समुद्री विश्लेषण कम्पनी केपलरको तथ्यांकले सोमबार केवल ६ वटा व्यावसायिक जहाजले मात्र यो मार्ग प्रयोग गरेको देखाएको छ । अघिल्लो दिन यो संख्या ७ थियो ।

होर्मुजको अवस्थाले विश्व बजारलाई पनि असर गरिरहेको छ । वार्ताको सम्भावना बढ्दा तेलको मूल्य घट्ने र सेयर बजार बढ्ने गरेको छ । तर, कुनै नकारात्मक समाचार आउँदा बजार फेरि प्रभावित हुने गरेको छ ।

इरान फारसको खाडीमा प्रवेश गर्ने जहाजमाथि आफ्नो केही नियन्त्रण कायम राख्न चाहन्छ । तर, अमेरिका भने यो जलमार्ग सबै जहाजका लागि कुनै अवरोधबिना खुला हुनुपर्ने पक्षमा छ ।

 

दुवै पक्षको आफ्नै उद्देश्य

लन्डनस्थित राजनीतिक विश्लेषक तथा इरानको रणनीतिक अनुसन्धान केन्द्रका पूर्वअधिकारी बाबक डोर्बेकीका अनुसार अहिले मुख्य प्रश्न वार्ता भइरहेको छ कि छैन भन्ने होइन, त्यसलाई कसरी प्रस्तुत गरिन्छ भन्ने हो ।

उनका अनुसार ट्रम्पले आफूले लगाएको दबाबका कारण इरान वार्तामा आएको देखाउन चाहन्छन् । तर, इरानले वार्ता स्वीकार गरे आफ्नै देशभित्र त्यसलाई कमजोरी वा आत्मसमर्पणका रूपमा लिन सकिने भएकाले त्यसो भन्न चाहँदैन । उनले दुवै पक्षका अडान अझै निकै फरक रहेको बताए ।

 

इरानभित्र पनि मतभेद

विश्लेषकहरूका अनुसार इरानभित्र पनि वार्तालाई लिएर फरक–फरक धारणा छन् । एक समूहले प्रतिबन्ध हटाएर अर्थतन्त्र सुधार गर्न अमेरिका र पश्चिमसँग सम्झौता आवश्यक रहेको ठान्छ । यस समूहमा केही सरकारी अधिकारी र आर्थिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू छन् ।

अर्को समूह भने अमेरिकासँग कुनै पनि सम्झौता गर्नु विचारधारात्मक हार हुने ठान्छ । यो समूहले प्रतिरोधकै नीति जारी राख्नुपर्ने पक्षमा छ ।

 

नेतृत्वको अन्योल

अमेरिका–इजरायल युद्धमा पूर्वसर्वोच्च नेता अली खामेनेईको मृत्यु भएपछि उनका छोरा मोजतबा खामेनेई सर्वोच्च नेता बनेका थिए । तर, उनी लामो समयदेखि सार्वजनिक रूपमा देखिएका छैनन् । उनी घाइते भएको चर्चा छ ।

यसले इरानभित्र नेतृत्वको अवस्था थप अन्योलपूर्ण बनेको विश्लेषकहरूको भनाइ छ । विभिन्न शक्ति समूहहरूले आफू नै नेतृत्वको प्रतिनिधित्व गरिरहेको दाबी गरिरहेका छन् ।

 

तीन शक्ति समूहबीच प्रतिस्पर्धा

इरानस्थित राजनीतिक विश्लेषक हसन असदी जेदाबादीका अनुसार इरानको सत्ता संरचनाभित्र अहिले तीन प्रमुख समूह सक्रिय छन् ।

पहिलो समूह आर्थिक समस्या समाधानका लागि अमेरिका र पश्चिमसँग वार्ता गर्नुपर्ने पक्षमा छ । दोस्रो समूह सैन्य पक्षको हो । उनीहरू वार्ताअघि आफ्नो रणनीतिक अवस्था अझ बलियो बनाउन चाहन्छन् र अमेरिकाप्रति अझै अविश्वास गर्छन् ।

तेस्रो समूह कट्टरपन्थीहरूको हो । उनीहरू अमेरिकासँग सम्झौता गर्नु भनेको इस्लामिक गणतन्त्रको मूल विचारधाराको अन्त्य हुने विश्वास गर्छन् । जेदाबादीका अनुसार यी कट्टरपन्थी समूहहरूको संसद्, सुरक्षा निकाय र सरकारी प्रचार संयन्त्रमा अझै पनि बलियो प्रभाव छ ।

विश्लेषकहरूका अनुसार इरान र अमेरिकाबीचको वार्ताको भविष्य केवल वासिङ्टन वा मस्कटमा हुने छलफलले मात्र होइन, इरानभित्र कुन राजनीतिक समूह बलियो हुन्छ भन्ने कुराले पनि निर्धारण गर्नेछ । त्यसैले आगामी दिनमा पनि वार्ताबारे दुवै पक्षबाट फरक–फरक सन्देश आउन सक्ने सम्भावना छ । डीडब्ल्यू

प्रतिक्रिया
सम्बन्धित समाचार