काठमाडौं – कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिको प्रयोगमा ढिलाइ गर्ने विकासशील देश आर्थिक वृद्धि, रोजगारी, शिक्षा र सार्वजनिक सेवा सुधारमा विकसित राष्ट्रभन्दा धेरै पछाडि पर्न सक्ने भन्दै विश्व बैंक (World Bank) ले गम्भीर चेतावनी दिएको छ। विश्व बैंकले सार्वजनिक गरेको विश्व विकास प्रतिवेदन (World Development Report) ले एआईलाई विकासशील अर्थतन्त्रका लागि ऐतिहासिक अवसरको रूपमा चित्रण गर्दै तत्काल रणनीतिक लगानी गर्न सरकारहरूलाई आग्रह गरेको छ।
विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्दरमित गिलका अनुसार एआई केवल विकसित मुलुकका लागि मात्र होइन, सीमित स्रोत भएका देशका लागि पनि आर्थिक रूपान्तरणको प्रभावकारी माध्यम बन्न सक्छ। सही नीति, पूर्वाधार र स्थानीय आवश्यकताअनुसारको प्रविधि विकास गर्न सके एआईले स्वास्थ्य, शिक्षा, कृषि तथा न्याय प्रणालीमा उल्लेखनीय सुधार ल्याउन सक्छ।
धेरैले एआईको विकासका लागि अत्याधुनिक डेटा सेन्टर र ठूलो लगानी आवश्यक ठान्ने गर्छन्। तर विश्व बैंकको प्रतिवेदनले स्थानीय स्तरमा विकास गरिएका कम लागतका एआई समाधानबाट पनि प्रभावकारी सेवा विस्तार गर्न सकिने उल्लेख गरेको छ।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य परामर्श, गुणस्तरीय शिक्षा, कानुनी सहायता र कृषि सेवामा एआईको प्रयोगले सेवा पहुँच उल्लेखनीय रूपमा बढाउन सक्ने प्रतिवेदनको निष्कर्ष छ।
विश्व बैंकका अनुसार महामारी, अन्तर्राष्ट्रिय द्वन्द्व र कमजोर आर्थिक वृद्धिका कारण धेरै विकासशील मुलुक चुनौतीमा छन्। यस्तो अवस्थामा एआईले उत्पादकत्व वृद्धि, सरकारी सेवा सुधार, नयाँ व्यवसाय सिर्जना तथा डिजिटल अर्थतन्त्र विस्तारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।
प्रतिवेदनका निर्देशक गौरव नायरले एआईलाई “जीवनमा एकपटक प्राप्त हुने अवसर” को संज्ञा दिँदै विश्वको करिब ८३ प्रतिशत जनसंख्या बसोबास गर्ने विकासशील देशहरूले यसलाई आफ्नो विकास रणनीतिको केन्द्रमा राख्नुपर्ने बताएका छन्।
विश्व बैंकले एआईको सफल प्रयोग भएका केही उदाहरण पनि प्रस्तुत गरेको छ।
साथै, स्मार्टफोन नभएका नागरिकलाई समेत सामान्य मोबाइलमार्फत आवाजका आधारमा एआई सेवा उपलब्ध गराउने प्रविधिमा लगानी गर्न सुझाव दिइएको छ।
एआईबाट अधिकतम लाभ लिन विकासशील राष्ट्रहरूले निम्न चार क्षेत्रमा प्राथमिकता दिनुपर्ने विश्व बैंकको सुझाव छ।
विश्व बैंकले एआईका फाइदासँगै सम्भावित जोखिमबारे पनि सचेत गराएको छ।
दीर्घकालमा धेरै मध्यमस्तरीय रोजगारी विस्थापित हुन सक्ने, धनी र गरिब राष्ट्रबीचको आर्थिक असमानता बढ्न सक्ने, केही सीमित प्रविधि कम्पनीको बजार नियन्त्रण बलियो बन्न सक्ने तथा व्यक्तिगत डेटा गोपनीयतामा चुनौती थपिन सक्ने प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी, अत्याधुनिक एआई प्रणाली सञ्चालनका लागि आवश्यक विशाल डेटा सेन्टरले अत्यधिक ऊर्जा र पानी खपत गर्ने भएकाले जलवायु परिवर्तनमा समेत नकारात्मक प्रभाव पर्न सक्ने विश्व बैंकको विश्लेषण छ।
विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा अर्को रोचक तथ्य पनि खुलाइएको छ। प्रतिवेदन तयार गर्ने क्रममा OpenAI, DeepSeek, Google र Anthropic जस्ता एआई प्लेटफर्महरूको सहयोग लिइएको विश्व बैंकले जनाएको छ।