भारतमा किन अचानक ह्वाट्सएपका धेरै एकाउन्ट बन्द भए ? 

काठमाडौं । मेटाको स्वामित्वमा रहेको लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपका धेरै भारतीय प्रयोगकर्ताका एकाउन्टहरू सोमबार बिना कुनै पूर्वसूचना बन्द गरिएका छन् । भारतसहित विभिन्न देशका प्रयोगकर्ताहरूले आफ्नो एकाउन्ट अचानक समीक्षामा परेको गुनासो गरेका छन् ।

रिपोर्टअनुसार यो समस्या राति करिब ८ बजेतिर देखिन थालेको थियो । एप खोल्नेबित्तिकै धेरै प्रयोगकर्ताको स्क्रिनमा “तपाईंको एकाउन्ट समीक्षामा छ,” भन्ने सन्देश देखिएको थियो ।

सन्देशमा लेखिएको छ, “तपाईंको एकाउन्ट समीक्षामा छ । अनुरोधको मितिः ३ अगस्ट २०२६ । तपाईंको एकाउन्टका गतिविधि र डिभाइससम्बन्धी जानकारीको समीक्षा भइरहेको छ, ताकि यो हाम्रो सेवासम्बन्धी सर्तहरूअनुसार रहेको सुनिश्चित गर्न सकियोस् । सामान्यतया हामी २४ घण्टाभित्र नतिजाबारे जानकारी दिनेछौँ ।”

कम्पनीले ती एकाउन्टहरूलाई २४ घण्टासम्म समीक्षा प्रक्रियामा राखिएको जनाएको छ ।

कम्पनीले के भन्यो ?

ह्वाट्सएपका प्रवक्ताले कम्पनीले प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न सेवा दुरुपयोग गर्ने एकाउन्टहरू पहिचान गरी आवश्यक कारबाही गर्ने गरेको बताएका छन् ।

“हामी सेवाको दुरुपयोग गर्नेहरूभन्दा एक कदम अगाडि रहँदै अन्य प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न निरन्तर काम गरिरहेका हुन्छौँ,” उनले भनेका छन्, “कहिलेकाहीँ हाम्रो प्रणालीबाट गल्ती हुन सक्छ । यदि, त्यसो भएको रहेछ भने प्रभावित प्रयोगकर्ताले पुनः सहज रूपमा च्याट गर्न सकुन् भनेर हामी सकेसम्म छिटो समस्या समाधान गर्ने प्रयास गर्छौं ।”

हाल कम्पनीले प्रभावित एकाउन्टहरूको समीक्षा जारी रहेको जनाएको छ । समीक्षा पूरा भएपछि सम्बन्धित प्रयोगकर्तालाई नतिजाबारे जानकारी गराइनेछ । एनडीटीभी

प्रतिक्रिया
सम्बन्धित समाचार