अमेरिकासँग कुनै पनि वार्ता भएको छैन : इरान

तेहरान– इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकासँग अहिले कुनै पनि प्रकारको प्रत्यक्ष वार्ता नभएको बताएका छन् । उनले अमेरिकासँग तत्काल कुनै वार्ता गर्ने योजना पनि नरहेको बताए ।

हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षित आवागमनका लागि ओमानसँग चलिरहेको वार्ता भने सकारात्मक रहेकाे उनले बताए । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता हुनै लागेको र त्यसका लागि सोमबारदेखि औपचारिक वार्ता सुरु हुने घोषणा गरेका थिए ।

त्यस्तै, इरानी राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकालाई गत जुन महिनामा दुई देशबीच हस्ताक्षर भएको अन्तरिम समझदारीपत्रप्रति प्रतिबद्ध रहन आग्रह गरेका थिए । उनले उक्त सम्झौता नै भविष्यमा तेहरानको परराष्ट्र सम्बन्धको मुख्य आधार बन्ने पनि बताएका थिए ।

तर, प्रवक्ता बघाईले अहिलेको अवस्थामा अमेरिकासँग कुनै पनि वार्ता नभएको बताए । उनले पश्चिम एशिया क्षेत्रमा द्वन्द्व र असुरक्षा बढेपछि चीन चिन्तित रहेको बताए । तर, यस द्वन्द्वमा चीनले मध्यस्थकर्ताको भूमिका भने निर्वाह नगरेको स्पष्ट पारे ।

‘हाम्रा चिनियाँ साथीहरूले अवस्थालाई थप बिग्रनबाट रोक्न आफ्ना क्षमताहरूको प्रयोग गर्ने प्रयास गरिरहेका छन्,’ उनले भने, ‘अन्य केही देशहरूजस्तै चीनले पनि सहयोग गरिरहेको छ । तर वार्तामा कुनै नयाँ मध्यस्थकर्ता भने छैन । पाकिस्तानले नै इरान र अमेरिकाबीचका मुद्दाहरूमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । आवश्यक परेको खण्डमा कतारले पनि सहयोग गर्दै आएको छ ।’

इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ताका अनुसार अमेरिका र इजरायलको इरानविरुद्धको युद्ध केवल एक देशविरुद्धको मात्र युद्ध होइन ।

‘यो सिङ्गो पश्चिम एशिया क्षेत्रका सबै देशहरूको सुरक्षाविरुद्धको युद्ध हो,” पत्रकार सम्मेलनमा बघाईले भने, ‘यी पाँच महिनामा यस क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिले असुरक्षा र अस्थिरतालाई थप बढाएको छ । तसर्थ, यस अवस्थालाई थप चर्किनबाट रोक्न यस क्षेत्रका देशहरूले प्रयास गर्नु स्वाभाविक हो ।’

उनले हर्मुज जलमार्ग व्यवस्थापनका विषयमा ओमानसँगको वार्ता भने सकारात्मक रुपमा अघि बढिरहेको बताए । हर्मुज जलमार्गको उत्तरतर्फ इरान र दक्षिणी तटमा ओमान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार