राष्ट्र बैंकद्वारा प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकमाथि कारबाही, प्रभुका पूर्वसीईओ पनि कारवाहीमा

अशोक शेरचनलाई ५ लाख रुपैयाँ जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशनको पालना नगरेको भन्दै राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकविरुद्ध कारबाही गरेको छ। केन्द्रीय बैंकले राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई चेतावनी दिएको छ भने प्रभु बैंकको सञ्चालक समितिसँग सुधारका लागि कबुलियतनामा गराउनुका साथै तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई ५ लाख रुपैयाँ जरिवाना गरेको छ।

राष्ट्र बैंकले पछिल्लो ४ महिनामा इजाजतप्राप्त क वर्गका बैंकहरू, बैंकका अध्यक्ष, सञ्चालक र सीईओहरूलाई गरेको कारबाहीको विवरण सार्वजनिक गर्दै यस्तो बताएको हो । बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ विपरीत समयमै खाता रोक्का नगरी नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(क) अनुसार पहिलो पटक सचेत गराइएको हो।

यस्तै, कृषि विकास बैंकले पनि खाता रोक्का तथा फुकुवाको प्रक्रिया समयमै पूरा नगरेको भेटिएपछि भविष्यमा सम्बन्धित निकायबाट अनुरोध प्राप्त हुनासाथ तत्काल आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिँदै पहिलो पटक चेतावनी दिइएको राष्ट्र बैंकले जनाएको छ ।

प्रभु बैंकको हकमा भने स्थलगत निरीक्षणका क्रममा देखिएका गम्भीर कमजोरीहरू पटक–पटक निर्देशन दिँदा पनि सुधार नभएको निष्कर्ष राष्ट्र बैंकले निकालेको छ। २०८१ सालको निरीक्षण प्रतिवेदनमा औँल्याइएका त्रुटि सच्याउन निर्देशन दिइए पनि २०८२ मा गरिएको जोखिममा आधारित पुनः निरीक्षणमा अपेक्षित सुधार नदेखिएपछि बैंकको सञ्चालक समितिसँग सुधारात्मक कदम अवलम्बन गर्ने कबुलियतनामा गराइएको हो ।

राष्ट्र बैंकका अनुसार प्रभु बैंकले कर्जा वर्गीकरणसम्बन्धी व्यवस्था पालना नगरेको, आवश्यक कर्जा नोक्सानी व्यवस्था पर्याप्त नराखेको, निरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका अधिकांश कैफियत सुधार नगरेको तथा राष्ट्र बैंकमा बुझाइएको कर्जा विवरण र कोर बैंकिङ प्रणालीको अभिलेखबीच असमानता देखिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार