सुर्खेत । आफूलाई ‘पाथीभरा माता’ भन्दै धर्मको नाममा झारफुक तथा हेराइ–मनाइ गर्ने र सर्वसाधारणमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले ती युवकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार राति करिब ८:३० बजे वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक निवासी अन्दाजी २४ वर्षीय समीर थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार थापाले आफूलाई ‘पाथीभरा माता’ भनेर चिनाउँदै धर्मको नाममा झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसहरूमाथि दुर्व्यवहार गरिरहेको फोटो तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि स्थानीयवासीले प्रहरीलाई टेलिफोनमार्फत जानकारी गराएका थिए ।