प्रचण्डका पूर्वघरबेटी शारदा प्रसाद अधिकारीलाई एनआईएमबीको ३५ दिने अन्तिम ताकेता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले समयमै ऋण नतिर्ने शारदा प्रसाद अधिकारी सहितलाई ऋण तिर्न ३५ दिने ताकेता गरेको छ । बैंकले सार्वजनिक गरेको ऋणीहरूको पहिलो सूचीमा ‘सिपेल इन्फ्रा(बैंक जमानत (एडभान्स पेमेन्ट)’ रहेको छ, जसमा ललितपुरका शारदा प्रसाद अधिकारी र उनका छोरा नितेश अधिकारीसँगै भारतीय नागरिकहरू सबिना खनम र परविज खान समेत पार्टनरका रूपमा आबद्ध रहेका छन् ।

शारदा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्व घरबेटीको रूपमा चर्चामा रहँदै आएका व्यक्ति हुन् । राजनीतिक वृत्तमा उनको चर्चा सधैँजसो हुँदै आएको छ । साथै उनी निर्माण व्यवसायमा समेत संलग्न छन् । उनको कम्पनीले निर्माण गरेको विभिन्न सडकखण्ड समयमै नसकिएको भन्दै विवाद समेत हुँदै आएको छ ।

बैंकले शुक्रबार प्रकाशित गरेको यो सूचनामा तोकिएको समयभित्र सम्पूर्ण बक्यौता फछ्र्यौट गर्न समेत भनिएको छ ।

पटक-पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि सावाँ, ब्याज, किस्ता र हर्जाना बुझाउन कुनै चासो नदेखाएपछि बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ र ‘ऋण असुली ऐन, २०५८’ को अधिकार प्रयोग गर्दै यो सूचना निकालेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार