काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज निर्माण व्यवसायीहरूसँग निर्माण क्षेत्रका समस्या, चुनौती र सुधारका उपायबारे छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे तय गरिएको बैठकमा निर्माण व्यवसायीहरूले भोगिरहेका व्यावहारिक कठिनाइ, आयोजना कार्यान्वयनका अवरोध तथा सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत सुधारका विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।
छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने कार्यक्रम छ।
सरकार र निर्माण व्यवसायीबीच हुने यस संवादबाट निर्माण क्षेत्रमा देखिएका समस्या समाधानका सम्भावित उपाय र नीतिगत सहजीकरणका विषयमा साझा धारणा बनाउने अपेक्षा गरिएको छ।