काठमाडौं । चीनको एक अदालतले भ्रष्टाचारको अभियोगमा एक पूर्वस्थानीय अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती अधिकारीले करिब तीन दशकको अवधिमा ३२ करोड ५० लाख अमेरिकी डलरबराबरको घुस लिएको अदालतले ठहर गरेको हो ।
चाङ्झोउ इन्टरमिडिएट पिपुल्स कोर्टका अनुसार, नानजिङका पूर्वआर्थिक विकास अधिकारी याङ युलिनले सन् १९९३ देखि २०२३ सम्म दुई अर्ब २१ करोड युआनबराबरको अवैध लाभ लिएका थिए ।
याङमाथिको अनुसन्धान राष्ट्रपति सी चिनफिङको एक दशकभन्दा लामो भ्रष्टाचारविरोधी अभियानअन्तर्गत गरिएको हो । यद्यपि, आलोचकहरूले उक्त अभियानलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई पाखा लगाउने माध्यमका रूपमा समेत प्रयोग गरिएको आरोप लगाउँदै आएका छन् ।
अदालतका अनुसार, याङले विभिन्न परियोजनाको स्वीकृति, व्यापार सञ्चालन, जग्गा उपलब्ध गराउने तथा कार्यशील पुँजी व्यवस्थापनमा सहयोग गरेबापत ठूलो रकम घुस लिएका थिए । उनी घुसखोरीसँगै सरकारी रकम हिनामिना, घुसखोरीलाई प्रोत्साहन, सार्वजनिक सम्पत्तिको दुरुपयोग, पदको दुरुपयोग तथा सम्पत्ति शुद्धीकरण लगायतका कसुरमा पनि दोषी ठहरिएका छन् ।
घुसको रकमका आधारमा यो हालका वर्षहरूमा चीनका सबैभन्दा ठूला भ्रष्टाचार प्रकरणमध्ये एक मानिएको छ ।
अदालतले जनाएकोअनुसार अन्तिम बयानका क्रममा याङले आफ्नो अपराध स्वीकार गरेका जनाइएको छ । अदालतले सार्वजनिक गरेका तस्बिरहरूमा उनी दुई प्रहरी अधिकारीको बीचमा उभिएको देखिन्छ ।
यस मुद्दाको सुनुवाइ गत मार्च र अप्रिल गरी दुई चरणमा गरिएको थियो, जहाँ ३० भन्दा बढी व्यक्तिको उपस्थिति रहेको अदालतले जनाएको छ ।