काठमाडौं । पेट्रोलियम पदार्थको भाउ उच्च दरमा घटे पनि यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादर दुई प्रतिशतले मात्रै घटाउने निर्णय गरेको छ ।
विभागले डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपियाँ ८३ पैसाबाट घटेर १९३ रुपियाँ ८३ पैसा कायम भएपछि भाडादर पुनः समायोजन गरिएको जनाएको छ ।
यसअघि इन्धन मूल्य बढ्दा यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा करिब पाँच प्रतिशतसम्म वृद्धि गरिएको थियो । त्यसबेला पूर्ण रूपमा समायोजन हुन नसकेकोले अहिले बाँकी प्रभाव समेटेर दुई प्रतिशतले भाडा घटाइएको विभागको तर्क छ ।
नयाँ निर्णयअनुसार यात्रुवाहक सवारीसाधनका साथै पहाडी तथा तराई मार्गमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा समेत दुई प्रतिशत भाडा घट्नेछ ।
विभागका अनुसार भाडा समायोजन असार १८ देखि नै लागू हुनेछ। यस निर्णयपछि इन्धन मूल्य घटेसँगै सार्वजनिक यातायातमा यात्रु र व्यवसायी दुवै पक्षलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।