मंगलबार र बुधबार भीषण वर्षा र बाढीको सम्भावना, खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले देशका विभिन्न भागमा मनसुनी गतिविधि सक्रिय भएसँगै भारी वर्षा, मेघगर्जन, चट्याङ, बाढी र पहिरोको जोखिम बढेकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले आइतबार जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको छ। केही स्थानमा अत्यधिक वर्षासमेत हुन सक्ने जनाइएको छ। यस्तै, देशका अन्य पहाडी तथा तराई क्षेत्रका धेरै स्थान र हिमाली क्षेत्रका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, नदी तथा खोलामा पानीको बहाव बढ्ने, सडक अवरुद्ध हुने तथा जनधनको क्षति हुन सक्ने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले बाढी आउन सक्ने खोला तथा नदी आसपास, पहिरोको जोखिम रहेका स्थान तथा जोखिमयुक्त सडकमार्गमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान तथा आफन्त र छिमेकीलाई पनि समयमै जानकारी गराउन अनुरोध गरिएको छ।

यसैगरी, सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन, निर्माणाधीन तथा जोखिमयुक्त सडकमा डोजर, एक्साभेटर र लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न तथा पूर्वतयारी र प्रतिकार्यमा संलग्न निकायलाई सम्बन्धित जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहन प्राधिकरणले आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार