असार १५ : राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व 

काठमाडौं। राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका रूपमा परिचित असार १५ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। धान रोपाइँको मुख्य याम सुरु हुने दिनका रूपमा किसानले खेतमा रोपाइँ गर्दै दही–चिउरा खाएर पर्व मनाउने परम्परा रहिआएको छ।

नेपाल कृषिप्रधान देश भएकाले असार महिना किसानका लागि सबैभन्दा व्यस्त समय मानिन्छ। वर्षभरको खाद्यान्न उत्पादनको आधार तयार हुने यही समयमा किसानहरू हिलोमा पस्दै धान रोप्ने काममा जुट्छन्। दिनभरको श्रमपछि दही–चिउरा खाने चलनले शरीरलाई शीतलता प्रदान गर्ने र काम गर्ने ऊर्जा बढाउने विश्वास रहँदै आएको छ।

असार १५ लाई कृषि कर्मसँग मात्र होइन, नेपाली सांस्कृतिक जीवनसँग पनि जोडेर हेरिन्छ। खेतीपातीमा प्रत्यक्ष संलग्न नभएका सर्वसाधारणले पनि यस दिन दही–चिउरा खाएर पर्व मनाउने गरेका छन्। पछिल्ला वर्षहरूमा सरकारी तथा निजी संस्थाले पनि धान रोपाइँ कार्यक्रम आयोजना गर्दै कृषि पेशाप्रति सम्मान व्यक्त गर्ने परम्परा विकास भएको छ।

शुभकार्यमा दहीको सांस्कृतिक महत्त्व

नेपाली समाजमा दहीलाई शुभताको प्रतीक मानिन्छ। घरबाट महत्वपूर्ण काममा निस्कँदा, विदेश जाँदा वा नयाँ यात्रा सुरु गर्दा दही खुवाएर बिदाइ गर्ने चलन अझै कायम छ। दहीसँग अक्षता मिसाएर टीका लगाउने परम्परा पनि शुभ साइतसँग जोडिएको विश्वास गरिन्छ।

लोकविश्वासअनुसार घरबाट दही खाएर निस्कँदा कार्य सफल हुने मान्यता छ। नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई गुरु गोरखनाथले दही खुवाउँदै पराक्रमको आशीर्वाद दिएको किंवदन्ती पनि नेपाली समाजमा प्रचलित छ।स्वास्थ्यका दृष्टिले पनि उपयोगी

दहीलाई पोषणयुक्त र स्वास्थ्यवर्द्धक खाद्य पदार्थका रूपमा लिइन्छ। यसमा रहेका उपयोगी जीवाणुले पाचन प्रणालीलाई सन्तुलित बनाउन सहयोग गर्ने चिकित्सकहरू बताउँछन्। आयुर्वेदमा भोजनपछि दही मथेर बनाइएको मोही सेवन गर्नु लाभदायी मानिएको छ। ‘भोजनान्ते पिबेत् तक्रं, वैद्यस्य किं प्रयोजनम्’ भन्ने आयुर्वेदिक उक्ति पनि प्रचलित छ, जसको अर्थ भोजनपछि मोही पिए चिकित्सकको आवश्यकता कम पर्छ भन्ने हो।

ग्रामीण क्षेत्रमा पखाला लाग्दा दही–चिउरा सेवन गर्ने परम्परा अझै कायम छ। यसलाई शरीरमा पानी र शक्ति सन्तुलन कायम राख्न सहयोगी मानिन्छ।

दुई दशकदेखि राष्ट्रिय धान दिवस

सरकारले २०६१ मङ्सिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार २०६२ सालदेखि प्रत्येक असार १५ गते राष्ट्रिय धान दिवस मनाउन थालेको हो। त्यसयता प्रत्येक वर्ष धान उत्पादनको महत्व, आधुनिक कृषि प्रविधिको प्रयोग र किसानको सम्मानका लागि विभिन्न कार्यक्रम आयोजना गरिँदै आएका छन्।

धान रोपाइँका बेला खेतमा असारे भाका गाउने, हिलो खेल्ने र सामूहिक रूपमा रोपाइँ गर्ने परम्परा नेपाली ग्रामीण संस्कृतिको महत्वपूर्ण पक्ष मानिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला’ जस्ता लोकगीतले असारको रौनक झन् बढाउने गर्छन्।

वर्षा ढिलो, रोपाइँ प्रभावित

यस वर्ष भने असारको मध्यसम्म पनि देशका धेरै क्षेत्रमा पर्याप्त वर्षा हुन नसक्दा धान रोपाइँ अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। कतिपय जिल्लामा सिँचाइको अभावका कारण किसानले रोपाइँ स्थगित गर्नुपरेको छ। केही स्थानमा रासायनिक मल सहज रूपमा उपलब्ध नभएको गुनासो पनि किसानले गर्दै आएका छन्। यद्यपि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक रासायनिक मलको मौज्दात पर्याप्त रहेको र प्रदेश तथा स्थानीय तहमार्फत वितरण भइरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार