काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सोमबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। आइतबार उल्लेख्य रूपमा बढेको सुनको भाउ सोमबार भने ओरालो लाग्दै प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य प्रतितोला चार हजार सात सय रुपैयाँले बढेर दुई लाख ८३ हजार आठ सय रुपैयाँ पुगेको थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ।
आइतबार प्रतितोला चार हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १५ रुपैयाँले घटेर चार हजार तीन सय १० रुपैयाँमा झरेको महासंघले जनाएको छ।