जीडब्लुएमको ऐतिहासिक उपलब्धि, १ करोडभन्दा बढी सवारी बिक्री

काठमाडौं । विश्वप्रसिद्ध अटोमोबाइल निर्माता कम्पनी जीडब्लुएम (ग्रेट वाल मोटर) ले आफ्नो स्थापनाको ३५औँ वर्षगाँठको अवसरमा अन्तर्राष्ट्रिय बजारमा हासिल गरेका महत्वपूर्ण उपलब्धिहरू सार्वजनिक गरेको छ। सानो स्वदेशी अटोमोबाइल कम्पनीका रूपमा सुरु भएको जीडब्लुएम आज विश्वका १७० भन्दा बढी देशमा आफ्नो उपस्थिति स्थापित गर्न सफल भएको छ।

कम्पनीले मध्यपूर्वमा पहिलो निर्यातबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको थियो। त्यसपछि युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, युरेसिया, थाइल्यान्ड, जर्मनी, ब्राजिल र मेक्सिको लगायतका बजारमा विस्तार गर्दै विश्वव्यापी सञ्जाल निर्माण गरेको छ। नयाँ बजारमा प्रवेश गर्दा स्थानीय उत्पादन, स्थानीय सञ्चालन तथा विश्वव्यापी आपूर्ति शृङ्खलाको एकीकरणलाई प्राथमिकतामा राख्दै कम्पनीले आफ्नो विश्वसनीयता र ग्राहक आधारलाई निरन्तर सुदृढ बनाएको जनाएको छ।

नवप्रवर्तनलाई केन्द्रमा राखेर अघि बढिरहेको कम्पनीका HAVAL, WEY, TANK, ORA र POER गरी पाँच प्रमुख ब्रान्डले विश्वभरका विभिन्न वर्गका ग्राहकहरूको आवश्यकता पूरा गरिरहेका छन्। कम्पनीका अनुसार HAVAL SUV को विश्वव्यापी सञ्चित बिक्री ५० लाख इकाईभन्दा बढी पुगेको छ, जसले ब्रान्डप्रति ग्राहकहरूको विश्वासलाई झल्काउँछ।

त्यस्तै, नयाँ ऊर्जा तथा अफ-रोड प्रविधिमा कम्पनीले Hi4 प्रविधि सार्वजनिक गर्दै उद्योगमा नयाँ मानक स्थापित गरेको दाबी गरेको छ। ब्राजिलमा स्थानीय उत्पादन केन्द्र स्थापना लगायतका पहलहरूले कम्पनीलाई दिगो र स्मार्ट गतिशीलताको क्षेत्रमा अग्रणी स्थानमा पुर्‍याएको बताइएको छ। विश्वभरका ग्राहकहरूको विश्वास जित्दै कम्पनीले हालसम्म १ करोडभन्दा बढी सवारीसाधन बिक्री गर्न सफल भएको छ, जुन कम्पनीको इतिहासमा महत्वपूर्ण उपलब्धि मानिएको छ।

कम्पनीको विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड ओआरएले आफ्नो आकर्षक र भावनात्मक डिजाइनका कारण अन्तर्राष्ट्रिय स्तरमा विशेष पहिचान बनाएको छ। रेट्रो–फ्युचरिस्टिक डिजाइन शैलीका कारण ओआरएले ‘बेस्ट डिजाइन’ सहित विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको कम्पनीले जनाएको छ। यी उपलब्धिले कम्पनीको इन्जिनियरिङ क्षमता मात्र नभई सृजनात्मक डिजाइनमा समेत विश्वस्तरीय प्रतिस्पर्धी हैसियत रहेको पुष्टि गर्ने कम्पनीको भनाइ छ।

यसैबीच कम्पनीले हालै आफ्नो नयाँ ब्रान्ड दर्शन तथा मिशन ‘टेक टु इन्जोय एभ्री जर्नी’ सार्वजनिक गरेको छ। ‘अल स्क्यानेरियस, अल पावरट्रेन्स, अल युजर्स’अवधारणामा आधारित यो रणनीतिले विश्वभरका ग्राहकहरूलाई दिगो, व्यावहारिक र मूल्यवान् यातायात समाधान प्रदान गर्ने लक्ष्य राखेको छ। कम्पनीले अब नेपाली बजारमा पनि आफ्नो उपस्थिति विस्तार गरेको छ। नेपालका लागि कम्पनीको आधिकारिक आयातकर्ता भीजी इम्पेक्स प्रालि रहेको छ। कम्पनीले नेपाली ग्राहकहरूलाई उच्च गुणस्तर, आधुनिक प्रविधि र उन्नत सुरक्षायुक्त सवारीसाधन उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।

यसैअन्तर्गत नेपाली बजारमा चाँडै नयाँ विद्युतीय एसयूभी सार्वजनिक गर्ने तयारी भइरहेको छ। उक्त गाडीमा अत्याधुनिक विद्युतीय प्रविधि, स्मार्ट फिचर र उच्च सुरक्षा प्रणाली समावेश गरिएको कम्पनीले जनाएको छ। नेपाली सडक र उपभोक्ताको आवश्यकता अनुरूप डिजाइन गरिएको यो मोडलले स्वच्छ तथा आधुनिक यातायातको नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

कम्पनीले आफ्नो ‘ग्लोबल इकोसिस्टम स्ट्राटेजी’ अन्तर्गत विश्वव्यापी रूपमा गुणस्तरीय, दिगो र प्रविधिमा आधारित विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। नेपालमा कम्पनीको औपचारिक प्रवेश र आगामी विद्युतीय एसयूभीको आगमनले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार