काठमाडौं । काठमाडौं महानगरपालिकाले विपन्न र असहायको निःशुल्क उपचार गरिदिने घोषणा गरेको छ । आइतबार आउँदो आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यबाहक प्रमुख सुनिता डंगोलले उक्त घोषणा गरेकी हुन् ।
महानगरको नीति तथा कार्यक्रममा आरोग्य जीवनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यानमार्फत शारीरिक, मानसिक, आत्मिक स्वस्थ जीवनशैली पद्धति प्रवर्द्धन गर्ने भनिएको छ ।
‘निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै महानगर क्षेत्रभित्रका साँघुरा सडक र बढ्दो सवारीचाप मध्यनजर गर्दै बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने छ,’ नीति तथा कार्यक्रममा उल्लेख । महानगरवासीको मिर्गौला रोगको उपचारका लागि डायलासिस सेवा सहजीकरण गर्ने घोषणा गरिएको छ । मातृशिशु तथा प्रजनन स्वास्थ्य सेवासम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिने समेत घोषणा गरिएको छ ।
सार्वजनिक स्थानमा ‘स्तनपान र हेरचाह ब्लकहरू’ सेवा व्यवस्थापन गरिने भएको छ । महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्था नियमन तथा अनुगमन गरी गुणस्तरीय सेवा प्रवाहका लागि प्रोत्साहन गरिने, विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार गर्ने व्यवस्था कडाइसाथ लागु गरिने, महानगरवासीलाई गुणस्तरीय र विशिष्ट स्वास्थ्य सेवा प्रवाह गर्न महानगर अस्पताल निर्माण गर्ने, परिवर्तित जीवनशैलीका कारण तीव्र रूपमा उत्पन्न मानसिक स्वास्थ्य समस्या न्यूनीकरण गर्न मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालनमा ल्याउने जस्ता कुरा पनि घोषणा गरिएको छ ।