युद्धविराम सम्झौता नभएसम्म होर्मुज जलमार्ग सञ्चालनमा नआउने इरानको घोषणा

काठमाडौं । युद्ध अन्त्यका निम्ति अमेरिकासँग एउटा सम्भावित सम्झौता हुन लागेको र त्यसमा होर्मुज जलमार्ग पुनः खोल्ने विषय पनि समावेश रहेको इरानका विदेशमन्त्रीले बताएका छन् । युद्ध अन्त्यको सम्झौतापछि मात्र होर्मुज जलमार्ग पुनः खुला गरिने उनले स्पष्ट पारेका छन् ।

विदेशमन्त्री सैयद अब्बास अराघचीले सरकारी टेलिभिजनसँग कुरा गर्दै उक्त सम्झौतामा इरानमाथि अमेरिकाले लगाएको नाकाबन्दी हटाउने विषय पनि समावेश रहेको बताए । उनले इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता भने पछि सुरु हुने जानकारी दिए ।

अमेरिकी अधिकारीले पनि सम्झौताका केही विवरण पुष्टि गर्दै इरानले आफ्ना प्रतिबद्धता पूरा गरेपछि आर्थिक लाभ प्राप्त गर्ने बताएका छन् ।

यो युद्ध गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानभरि गरेका हवाई आक्रमणसँगै सुरु भएको थियो । त्यसको जवाफमा इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि आक्रमण गरेको थियो । त्यसपछि विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसारपसारको प्रमुख जलमार्ग होर्मुज स्ट्रेट अवरुद्ध छ ।

गएको अप्रिलमा युद्धविरामको सहमति भए पनि अमेरिका र इरानबीच बीचबीचमा गोलाबारी जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार