नेपाल–भारत सीमा व्यवस्थापनमा सहकार्य बढाउने सहमति, सीमास्तम्भ मर्मतको समीक्षा

झापा– नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको संरक्षण, मर्मत तथा पुनर्निर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारीबीच झापाको विर्तामोडमा संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ ।

नापी विभाग, सीमा शाखा काठमाडौँको आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यको प्रगति मूल्याङ्कन गरिएको थियो । हालै सम्पन्न बैठकमा संयुक्त टोलीले पछिल्ला तीन महिनामा गरेका कामको विवरण प्रस्तुत गर्दै मर्मत गरिएका तथा पुनःनिर्माण आवश्यक रहेका सीमास्तम्भबारे जानकारी गराएको थियो ।

सीमासम्बन्धी प्राविधिक विषयमा नियमित रूपमा हुने बैठकले सीमाङ्कनको स्पष्टता कायम राख्न तथा सीमास्तम्भको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सीमा क्षेत्रमा देखिएका प्राविधिक समस्याको समाधान, आवश्यक समन्वय तथा आगामी कार्ययोजनाबारे पनि छलफल भएको थियो ।

नापी विभागका प्रमुख नापी अधिकृत हरेराम यादवले सीमास्तम्भको मर्मत र पुनर्निर्माणसम्बन्धी द्विपक्षीय समझदारीअनुसार अघि बढिरहेको जानकारी दिए । उनका अनुसार फिल्डमा खटिएका संयुक्त प्राविधिक टोलीले स्थलगत निरीक्षणपछि तयार पारेका प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिने अभ्यास जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार