परीक्षामा जफत गरिएका ५०० भन्दा बढी मोबाइल नष्ट, प्रशासनको निर्णयमाथि प्रश्न

काठमाडौँ – एसईई र कक्षा १२ परीक्षाका क्रममा जफत गरिएका सयौं मोबाइल फोन तथा स्मार्ट घडी नष्ट गर्ने जिल्ला प्रशासन कार्यालय सिराहाको निर्णय विवादको विषय बनेको छ। उक्त कदमप्रति अभिभावक, कानुन व्यवसायी तथा सर्वसाधारणले आपत्ति जनाएका छन्।

प्रशासनले परीक्षाको निष्पक्षता र मर्यादा कायम राख्न तथा जफत गरिएका उपकरणको सम्भावित दुरुपयोग रोक्न ती सामग्री नष्ट गरिएको जनाएको छ। तर अभिभावकहरूले विद्यार्थीको गल्तीका कारण आफूहरूले खरिद गरेको मूल्यवान् सम्पत्ति नष्ट गर्नु न्यायोचित नभएको भन्दै निर्णयको विरोध गरेका छन्।

गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) र वैशाखमा सञ्चालन भएको कक्षा १२ को परीक्षाका क्रममा परीक्षा केन्द्रबाट सातवटा आईफोन, ४८९ वटा विभिन्न ब्रान्डका एन्ड्रोइड मोबाइल तथा पाँचवटा स्मार्ट घडी जफत गरिएको थियो। प्रशासनका अनुसार ती सबै उपकरण हालै नष्ट गरिएका हुन्।

जफत गरिएका सामग्रीको कुल बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ। यति ठूलो मूल्यका उपकरण बिना स्पष्ट कानुनी प्रक्रिया नष्ट गरिएको भन्दै कानुन व्यवसायीहरूले पनि निर्णयको वैधानिकता र औचित्यमाथि प्रश्न उठाएका छन्।

यस घटनापछि प्रशासनको अधिकार, परीक्षामा जफत गरिएका सामग्रीको व्यवस्थापन तथा सम्पत्ति संरक्षणसम्बन्धी कानुनी पक्षबारे व्यापक बहस सुरु भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार