‘राइड सेयरिङ’ सेवामा अब पाँच प्रतिशत भ्याट लाग्ने 

काठमाडौं । सरकारले नेपालमा सञ्चालन भइरहेका ‘राइड सेयरिङ’ सेवामा पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु गर्ने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले डिजिटल तथा प्रविधिमा आधारित यातायात सेवामाथि करको दायरा विस्तार गरेको हो ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा भ्याटमा बहुदर प्रणाली लागु गर्दै ५० युनिटमाथि विद्युत् तथा राइट सेयरिङ प्ल्याटफर्ममा पाँच प्रतिशत कर लागु गरेका हुन् ।

नयाँ व्यवस्थाअनुसार अब राइड सेयरिङ प्लेटफर्ममार्फत प्रदान हुने सेवामा पाँच प्रतिशत भ्याट तिर्नुपर्नेछ । यसले यात्रुले तिर्ने भाडामा प्रत्यक्ष असर पार्ने छ ।

नेपालमा हाल पठाओ, इनड्राइभ, यांगो, उबर लगायतका राइड सेयरिङ प्लेटफर्म सञ्चालनमा छन् । यी कम्पनीहरूले मोबाइल एपमार्फत मोटरसाइकल तथा चारपांग्रे सवारी सेवा उपलब्ध गराउँदै आएका छन् । पछिल्लो समय राइड सेयरिङ सेवा सहरी क्षेत्रमा अत्यधिक प्रयोग हुन थालेपछि सरकारले यस क्षेत्रलाई औपचारिक कर प्रणालीभित्र ल्याउन लागेको हो ।

सरकारले डिजिटल अर्थतन्त्र विस्तारसँगै नयाँ प्रकारका सेवाबाट राजस्व संकलन बढाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ । राइड सेयरिङ कम्पनीहरूले भने नयाँ कर व्यवस्थाले सेवा शुल्क बढ्न सक्ने र त्यसको असर अन्ततः सेवाग्राहीमा पर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार