गाजाको बहुसंख्यक क्षेत्र आफ्नो नियन्त्रणमा लिन सेनालाई नेतन्याहूको निर्देशन 

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)लाई गाजा पट्टीको प्यानिस्टिनी भूभागको नियन्त्रणलाई बढाएर ७० प्रतिशत पुर्‍याउन निर्देशन दिएका छन् ।

बिहीबार उनले इजरायलले पहिला गाजा पट्टीको ५० प्रतिशत भूभाग कब्जा गरेकोमा अहिले ६० मा पुगेको बताए ।

उनले यति भन्दै गर्दा भीडबाट कसैले १०० प्रतिशत भनेपछि उनी केही बेर रोकिएका थिए । त्यसपछि उनले क्रमशः अगाडि बढौँ भन्दै सबैभन्दा पहिले ७० प्रतिशत पुर्‍याउन भनेका थिए ।

इजरायलद्वारा यसरी नियन्त्रण क्षेत्र विस्तार गरिनु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा भएको युद्धविराम सम्झौताका सर्त विपरीत रहेको बताइएको छ, जसमा इजरायल र हमासले अक्टोबर २०२५ मा सहमति जनाएका थिए ।

ट्रम्पको गाजा शान्ति योजनालाई अगाडि बढाउन अमेरिकाको मध्यस्थतामा भइरहेको अप्रत्यक्ष वार्तामा इजरायल र हमासबीच अझै गतिरोध कायमै रहेको बेला नेतन्याहूको यो भनाइ यस्तो समयमा आएको हो । युद्धविरामका बाबजुद इजरायलले गाजामा आक्रमणहरू जारी राखेको छ ।

अक्टोबरमा युद्धविराम लागू भएदेखि यता कम्तीमा ७३८ प्यालेस्टाइनीहरू मारिइसकेका छन् । बीबीसी

प्रतिक्रिया
सम्बन्धित समाचार