चितवन । नेपालमा पहिलोपटक क्यान्सर उपचारमा प्रयोग हुने औषधिको कच्चा पदार्थ स्वदेशमै उत्पादन हुन थालेको छ। चितवनको भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित जायोडिन बायोटेक उद्योगले नेपाली जडीबुटी प्रशोधन गरी यस्तो कच्चा पदार्थ तयार गरेर भारत निर्यात सुरु गरेको जनाएको छ।
उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीका अनुसार अत्याधुनिक प्रविधि र उपकरणमार्फत क्यान्सर औषधिका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गरी निर्यात प्रक्रिया अघि बढाइएको हो। स्वदेशी लगानीकर्ताको करिब एक अर्ब ३० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको उद्योगले अहिले उत्पादनसँगै थप औषधि निर्माणको तयारी पनि गरिरहेको छ।
उद्योगले हाल दुई प्रकारका कच्चा पदार्थ उत्पादन गरिसकेको र आगामी दिनमा १० देखि १२ प्रकारसम्म विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। लौठ सल्लो नामक वनस्पतिबाट प्राप्त सहायक पदार्थ ‘टेन ड्यब थ्री’ प्रशोधन गरी ‘प्याक्लिट्याक्सल’ र ‘डोसीट्याक्सल’ उत्पादन गरिएको क्षेत्रीले बताए। यी पदार्थ क्यान्सर उपचारमा प्रयोग हुने औषधि निर्माणका लागि महत्वपूर्ण मानिन्छन्।
हेटौँडाको बसामाडीस्थित इभान्स लाइफ साइन्स उद्योगमा प्रारम्भिक प्रशोधन गरिएको लौठ सल्लो चितवन ल्याएर थप प्रशोधन गरिन्छ। यसरी तयार पारिएको दुई किलो पाँच सय ग्राम ‘सेभेन ट्रक प्याक्लिट्याक्सल’ मंगलबार भारत निर्यात गरिएको उद्योगले जनाएको छ।
उद्योगले आवश्यक परीक्षण तथा अनुमति प्राप्त गरिसकेको बताउँदै क्षेत्रीले भारतीय कम्पनीमा पठाइएको नमूना सफल भएपछि निर्यात सुरु गरिएको जानकारी दिए। यस्तो कच्चा पदार्थको मूल्य प्रतिकिलो आठ लाखदेखि २५ लाख रुपैयाँसम्म पुग्ने जनाइएको छ।
उद्योगले भविष्यमा पाकिस्तान, बंगलादेशलगायत एसियाली बजारमा पनि निर्यात विस्तार गर्ने योजना बनाएको छ। नेपालका करिब ४०–४५ जिल्लामा पाइने लौठ सल्लोबाट वार्षिक ठूलो परिमाणमा कच्चा पदार्थ उत्पादन सम्भव रहेको उद्योगको दाबी छ।
यसैबीच, उद्योग परिसरमै अर्को भवनमा क्यान्सर उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्ने तयारी पनि भइरहेको छ। उद्योगको मासिक उत्पादन क्षमता ७० देखि ८० किलोसम्म रहेको बताइएको छ।