काठमाडाैँ । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत आवासीय घर निर्माणका लागि कर्जाको प्रवाह तीव्र रूपमा वृद्धि भएको छ । यसको प्रमुख कारणहरूमा ब्याजदरको गिरावट, बैंकहरूद्वारा प्रदान गरिएका आकर्षक कर्जा योजनाहरू, र नेपाल राष्ट्र बैंकको नीतिगत लचकता समावेश छन्।
बैंकहरूले २ करोडसम्मको घर कर्जा प्रदान गर्ने प्रावधान राखेपछि धेरै नागरिक बैंक कर्जाबाट आफ्नो घर निर्माण गर्न प्रेरित भएका छन् । यो कर्जाको मागले घरजग्गा क्षेत्रलाई फेरि सक्रिय बनाएको छ । बैंकहरूले आकर्षक योजनाहरू ल्याउन थालेपछि कर्जा प्रतिस्पर्धा बढेको छ।
चालु आर्थिक वर्षको आठ महिना वाणिज्य बैंकहरुले ब्यक्तिगत घर बनाउनका लागि ३ खर्ब २२ अर्ब ५२ करोड २१ लाख रुपैयाँ कर्जा दिएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४.३९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ३ खर्ब ८ अर्ब ९३ करोड रुपैयाँ घर कर्जा दिएका थिए ।