एसइई परीक्षा आजबाट, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौँ– माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (चैत १९)देखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ ।

शैक्षिक क्यालेन्डर अनुसार एसइई परीक्षा चैतको पहिलो साता हुनुपर्ने थियो। तर, २१ फागुनको प्रतिनिधि सभा निर्वाचनका कारण परीक्षा १९ चैतमा सारिएको हो।

परीक्षणका लागि प्रश्न पत्र र उत्तरपुस्तिका सबै केन्द्रमा वितरण भइसकेका छन्। केन्द्राध्यक्षहरू नियुक्त भई सम्बन्धित परीक्षा केन्द्रमा पुगेका छन्। परीक्षा सञ्चालनका लागि कर्मचारी र सुरक्षाकर्मीको टोली पनि खटाइएको छ। यस वर्ष १ हजार ९६६ परीक्षा केन्द्र कायम गरिएको छ, जसमा एउटा केन्द्र जापानमा रहेको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी परीक्षा दिँदैछन्। विद्यार्थीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ अन्य सहभागी छन्। जापानको एभरेस्ट स्कुलबाट २३ विद्यार्थी सहभागी हुनेछन्। पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ।

बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार नतिजा परीक्षा सकिएपछि १ महिनाभित्र सार्वजनिक गर्ने तयारी छ। उत्तरपुस्तिका केन्द्राध्यक्षको निगरानीमा परीक्षण गरिनेछ। बोर्डले कम उत्तरपुस्तिका भएकाले त्रुटि कम हुने अपेक्षा गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार