काठमाडौँ – नयाँ सरकार गठनसँगै सेयर बजारमा दबाब देखिएको छ। सरकार बनेपछि खुलेका लगातार दुई कारोबार दिनमा बजार घट्दा नेप्से सूचक कुल ११८ अंकले तल झरेको छ।
लगानीकर्ता छोटेलाल रौनियारका अनुसार बजारको गिरावटलाई सरकारप्रति असन्तुष्टि भनेर व्याख्या गर्नु उचित हुँदैन। उनका अनुसार निर्वाचन परिणामपछि पनि बजार उकालो लागेको थियो, त्यसैले वर्तमान गिरावटलाई सिधै सरकारसँग जोडेर हेर्न नमिल्ने उनको तर्क छ।
उनले पछिल्लो समय सरकारले अघि बढाएको पक्राउ तथा भ्रष्टाचारविरुद्धका कदमहरूले लगानीकर्तामा केही अन्योल र डर सिर्जना गरेको बताए। यस्ता गतिविधिले आन्तरिक अस्थिरता बढ्न सक्ने आशंकाले बजारमा मनोवैज्ञानिक असर परेको उनको भनाइ छ। तर यो प्रभाव लामो समय टिक्ने सम्भावना नरहेको उनको अनुमान छ।
बजारमा गिरावट आउँदा दुई दिनभित्रै लगानीकर्ताको सम्पत्तिको मूल्य झण्डै २ खर्ब रुपैयाँले घटेको छ। बिहीबार करिब ५० खर्ब रहेको कुल बजार पुँजीकरण सोमबारसम्म आइपुग्दा ४८ खर्ब १३ अर्ब रुपैयाँमा सीमित भएको छ।
नेप्सेले २०७८ भदौमा छोएको ३१९८ विन्दु अहिलेसम्म बलियो अवरोधकै रूपमा रहँदै आएको छ। त्यसपछि धेरै पटक ३००० विन्दु नजिक पुगे पनि बजार त्यहाँ टिक्न सकेको छैन। यसपटक पनि सो स्तर पार गर्न कुनै ठोस सकारात्मक कारण आवश्यक पर्ने देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमत सरकार बनेपछि राजनीतिक स्थिरता आउने अपेक्षाले धेरै लगानीकर्ता उत्साहित थिए। त्यही उत्साहमा बजारले ३००० विन्दु पार गर्ने अनुमान गरिएको थियो। तर अन्तर्राष्ट्रिय स्तरमा जारी इरान–इजरायल–अमेरिका तनाव र देशभित्रका राजनीतिक गतिविधिले बजारलाई स्पष्ट दिशा दिन सकेको छैन।
सेयर बजारले यस्ता घटनामा छिटो प्रतिक्रिया दिने भएकाले आगामी केही दिनको प्रवृत्ति महत्वपूर्ण हुने देखिन्छ।
मैनबत्ती (क्यान्डलस्टिक) विश्लेषणले बजार अहिले बियरिस दिशातर्फ जान सक्ने संकेत दिएको छ। पछिल्ला तीन कारोबार दिनमा बनेको ‘थ्री आउटसाइड डाउन’ ढाँचाले अल्पकालीन गिरावटको सम्भावना बलियो देखाएको छ।
बिहीबारको क्यान्डललाई आइतबारको क्यान्डलले पूरै समेट्दै ‘बेयरिस इन्गल्फिङ’ संकेत दिएको थियो भने सोमबार थप गिरावटसँगै नकारात्मक प्रवृत्ति पुष्टि भएको देखिन्छ।
छोटो अवधिमा बजारले करिब २८०० विन्दु आसपास टेको पाउन सक्ने सम्भावना रहेको छ। यसअघि पनि २७९६–२७९८ को क्षेत्रमा बजारले समर्थन परीक्षण गरेर उकालो लागेको थियो।
यद्यपि, ५० दिने र २०० दिने मुभिङ एभरेजका आधारमा हेर्दा बजार अझै पूर्ण रूपमा दीर्घकालीन बियरिस ट्रेन्डमा प्रवेश गरिसकेको छैन।