ओली र लेखक पक्राउपछि कति दिन हिरासतमा रहन्छन् र अबको कानुनी प्रक्रिया के ?

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरिएको २४ घण्टाभित्र आइतबार (चैत १५) काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने तयारी भएको छ।

फौजदारी कानुनका जानकारहरूका अनुसार उनीहरूलाई ‘हेलचेक्र्याइँका कारण ज्यान गएको’ अभियोगमा पक्राउ गरिएको हुँदा अदालतबाट उक्त पक्राउलाई अनुमोदन गराउनुपर्ने हुन्छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लापरबाहीका कारण ज्यान गएको निष्कर्ष निकाले पनि घटनामा संगठित अपराधको पक्षसमेत जोडिन सक्ने कानुनविद्हरूको भनाइ छ।

कानुनका प्राध्यापक रजितभक्त प्रधानाङ्ग का अनुसार अदालतमा पेश गरेपछि थुना म्याद थप गर्ने प्रक्रिया सुरु हुन्छ। यदि संगठित अपराधसम्बन्धी मुद्दा समेत दर्ता भयो भने अभियुक्तहरूलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने अवस्था आउन सक्छ।

फौजदारी संहिता २०७४ का दफा ४२ र ४४ अनुसार संगठित अपराध जोडिएमा सजाय र प्रक्रिया दुवै कडा हुन सक्ने उनले बताएका छन्। साथै, अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण जस्ता अन्य अभियोगहरू पनि थपिन सक्ने सम्भावना औंल्याइएको छ।

नायब महान्यायाधिवक्ता संजिवराज रेग्मी का अनुसार सुरुमा अदालतबाट पक्राउ पुर्जीको समर्थन लिइन्छ र त्यसपछि अनुसन्धान अघि बढाइन्छ। ज्यानसम्बन्धी मुद्दामा अदालतको अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न सकिने व्यवस्था रहेको उनले बताए।

कानुनविद्हरूका अनुसार घटनाको प्रकृतिअनुसार ‘कर्तव्य ज्यान’, ‘ज्यान मार्ने उद्योग’, ‘सम्पत्ति नोक्सानी’ जस्ता थप मुद्दाहरू पनि चल्न सक्छन्। मनसायपूर्वक हत्या भएमा कर्तव्य ज्यान लाग्ने, तर लापरबाहीका कारण भएमा ‘हेलचेक्र्याइँ’ अन्तर्गत मुद्दा अघि बढ्ने स्पष्ट गरिएको छ।

आयोगको प्रतिवेदनले ओली, लेखक र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलगायतमाथि लापरबाही पुष्टि गरेको थियो। सोही आधारमा मुलुकी अपराध संहिताका दफा २८१, २८२ र २८३ आकर्षित हुनसक्ने उल्लेख छ।

यी व्यवस्थाअनुसार दोषी ठहरिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ।

प्रतिक्रिया
सम्बन्धित समाचार