काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले यसै साता बालुवाटार छाड्ने भएकी छन् । फागुन २१ को चुनावपछि नयाँ सरकार आउने भएसँगै उनले यसै साता बालुवाटार छोड्ने तयारी भइरहेको हो ।
कामलचाउ हैसियतमा परिणत प्रधानमन्त्री कार्कीले अहिले सामान्य काम र भेटघाट मात्रै जारी राखेको एक मन्त्रीले बताए ।
”उहाँ (प्रधानमन्त्री) अहिले सामान्य खालका काम र भेटघाटबाहेक अरू कुनै भूमिकामा रहनुभएको छैन । त्यस्ता काम पनि बालुवाटारबाटै भइरहेको अवस्था हो,’’ ती मन्त्रीले बाह्रखरीसँग भने, ‘‘सम्भवतः चैत १३ गते नै निजी निवास जाने कुरा जानकारीमा आएको छ ।”
प्रधानमन्त्रीको सरकारी निवासबाट अहिले सरसामान निजी निवासमा लैजाने काम भइरहेको छ । चैत १३ गते प्रधानमन्त्रीका रूपमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले शपथ लिँदै छन् ।
प्रधानमन्त्री कार्कीले त्यही दिन बालुवाटार छाड्ने भएकी हुन् । प्रधानमन्त्री कार्की चैत १३ मा बिदा हुने भएसँगै उनकै कार्यकालमा भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिकको विषय पनि अनिश्चित बनेको छ ।