काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा आज मंगलबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुने तय छ । हिजो सोमबार न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा थियो । त्यसलाई आज निरन्तरता दिइनेछ ।
सोमबार रिट निवेदकका कानुन व्यवसायीले सुरुआती बहस गरेका थिए । रिट निवेदकको बहस बाँकी नै छ । त्यसपछि लामिछाने पक्षका कानुन व्यवसायीले प्रतिरक्षामा बहस गर्नेछन् ।
यसअघि, यही चैत ५ गते न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । उनीहरूले आफूबाहेकको इजलासमा सोमबारका निम्ति सुनुवाइको पेसी तोक्न आदेश दिएका थिए ।
सर्वोच्चको मागबमोजिम महान्यायाधिवक्ता कार्यालयबाट अघिल्लो निर्णय संशोधनसम्बन्धी फाइल पेस भइसकेको छ । महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेको हकमा मात्र आरोपपत्र संशोधन हुने निर्णय गरेपछि विवाद निम्तिएको थियो ।
उनले माघ २ गते लामिछानेसहित सबै आरोपितको आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् । लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद उत्पन्न भएको थियो ।