काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा राम्रो परिणाम हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र अहिले नेतृत्व र भावी प्रधानमन्त्रीको विषयलाई लिएर नयाँ बहस सुरु भएको छ । मतगणना पूर्ण रूपमा सकिनु अघि नै पार्टीभित्र “प्रधानमन्त्री को बन्ने ?” भन्ने प्रश्नले नेताहरूबीच अन्योल र चर्चा बढेको देखिएको छ ।
केही समयअघि पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह (बालेन) बीच सात बुँदे लिखित सहमति भएको थियो । उक्त सहमतिअनुसार पार्टीको केन्द्रीय नेतृत्व रवि लामिछानेकै हातमा रहने र निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्री पदका लागि बालेन शाहलाई अघि सार्ने सहमति गरिएको बताइएको थियो । चुनावी अभियानमा समेत ‘बालेन सरकार’ भन्ने नारासहित मत मागिएको थियो।
तर अहिले पार्टीभित्र केही नेताहरूले सो सहमतिलाई प्राथमिकता नदिने संकेत देखिएको छ । विशेष गरी उपसभापति डिपी अर्यालले सांसदहरू, अग्रता लिइरहेका उम्मेदवारहरू तथा समानुपातिक सूचीका नेताहरूलाई अहिले नै “बालेन हाम्रो प्रधानमन्त्री” भन्ने अभिव्यक्ति सार्वजनिक रूपमा नदिन आग्रह गरेको बताइएको छ।
पार्टी स्रोतका अनुसार अर्यालले आन्तरिक रूपमा निर्देशन दिँदै मिडियामा यस्तो धारणा व्यक्त नगर्न सुझाएका छन्। समानुपातिक सूचीमा रहेका एक नेताले बताएअनुसार उनले भनेका छन्, “अहिले नै बालेनलाई प्रधानमन्त्री भनेर प्रचार नगर्नुहोस्, यो विषय संसदीय दलको बहुमतले पछि निर्णय गर्ने कुरा हो।”
उता काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित उपसभापति अर्यालले पनि पत्रकारहरूसँग कुरा गर्दै उक्त सहमतिबारे आफूलाई स्पष्ट जानकारी नभएको बताएका छन्। उनले भने, “त्यो कागजमा के लेखिएको छ, हेर्नुपर्छ। मलाई ठ्याक्कै याद छैन। संसदीय दल बनेपछि त्यसले गर्ने निर्णय सबैले मान्नुपर्छ।”
यता सभापति रवि लामिछानेले पनि चितवनमा पत्रकारले सोधेको “अब पाँच वर्ष बालेन नै प्रधानमन्त्री हुने हो ?” भन्ने प्रश्नमा स्पष्ट प्रतिक्रिया दिएका छैनन्। उनले सो प्रश्नलाई टार्दै विषय परिवर्तन गरेका थिए।
निर्वाचन अभियानमा ‘बालेन सरकार’ को नारा प्रयोग गरेर मत मागिएको भए पनि परिणाम आउन थालेपछि नेताहरूले बालेनलाई प्रधानमन्त्रीको रूपमा खुला रूपमा समर्थन गर्न हिचकिचाएको देखिन्छ। यसले रास्वपाभित्र नेतृत्व र प्रधानमन्त्रीको विषयमा आन्तरिक मतभेद र खिचातानी बढ्दै गएको संकेत गरेको छ।