अवैध ८९४ केजी शालिग्राम शिला बरामद

मुस्ताङ – प्रहरीले अवैध शालिग्राम बरामद गरेको छ । जिल्लाको बारागुङ मुक्तिक्षेत्र–३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोष्टले ३४ वटा सेतो बोरामा ‘प्याकिङ’ गरिएको ८९४ केजी शालिग्राम शिला बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घमिबाट जोमसोमतर्फ आउँदै गरेको ग ३ च ८१५२ नं को बोलेरो जीपलाई शङ्का लागि जाँच गर्दा अवैध शालिग्राम प्रहरीले फेलापारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए ।

लोघेकर दामोदरकुण्ड–५ सुर्खाङ बस्ने ४१ वर्षीय कुनसाङ रेञ्जिङ गुरुङले बोलेर जीपमा लोड गरेर अवैध रुपमा लुकाइछिपाइ शालिग्राम जोमसोमतर्फ ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय छुसाङले बरामद गरेको प्रहरी निरीक्षण अधिकारीको भनाइ छ । अवैध रूपमा ल्याउँदै गरेको शालिग्रामसहित जीप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण कार्यालय जोमसोममा पेस गरिएको प्रहरीले जनाएको छ ।

एक्याप जोमसोमले शालिग्राम शिलासहित जीप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रधान कार्यालय पोखरामा अनुसन्धानका लागि पठाइसकेको कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार