सुनको मूल्य वर्षमा ४७ हजार र चाँदीको २१० रुपैयाँले बढ्यो 

काठमाडौ – सुनको मूल्य गतवर्ष ०८१ मा तोलामै ४७ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार ०८० को चैत मसान्तमा सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार रुपैयाँ थियो । ०८१ को चैत मसान्तमा आइतबार सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै चाँदीको मूल्य तोलामा दुई सय १० रुपैयाँले बढेको छ । ०८१ चैत मसान्तमा चाँदीको मूल्य प्रतितोला १७ सय ५० रुपैयाँ थियो । ०८१ चैत मसान्तसम्म आउँदा त्यो बढेर १९ सय ६० पुगेको छ ।

चालू आवको बजेटले सुनको आयातमा भन्सार दर बढाएर २० प्रतिशत पुर्‍याएको थियो । सो करको दर नघटाएको भए सुनको मूल्य थप उच्च हुने थियो । ०८० चैतमा सुनको आयातमा लाग्ने भन्सार दर १५ प्रतिशत थियो । १५ जेठमा बजेटमार्फत त्यो बढाएर २० प्रतिशत पुर्‍याइएको थियो । तर, भारतमा भने सुनको आयात गर्दा लाग्ने भन्सार दर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा सीमित राखिएको थियो ।

फलस्वरूप नेपालमा भन्दा भारतमा सुनको मूल्य कम पर्न गएको थियो, त्यसले भारतबाट अवैध रूपमा नेपालमा सुन भित्रिने गरेको थियो । त्यसपछि नेपाल सरकारले ९ मंसिरमा सुनको आयातमा लाग्ने भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा सीमित गरेको थियो । त्यसले सुनको मूल्य उच्च मात्रामा कम गराएको थियो । २० प्रतिशत नै भन्सार दर कायम भएको भए अहिले नेपालमा सुनको मूल्य प्रतितोला दुई लाखभन्दा माथि हुने थियो ।

यसबिचमा विश्वका विभिन्न मुलुकबिच युद्ध भयो । त्यसले विश्व अर्थतन्त्र प्रभावित हुने भएपछि अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनमा लगानी बढाएका थिए । त्यसले पनि सुनको मूल्य बढाएको थियो । पछिल्लोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाहेकका राष्ट्रहरूमा लगाएको भन्सार कर ९० दिनका लागि निलम्बन गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको विश्लेषकको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार