काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त कम्पनीको शेयर १ लाख १८ हजार २६ जनाले १०–१० कित्ताको दरले पाएका छन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल र मेरोसेयर एकाउन्ट बाट आईपीओको नतिजा हेर्न सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिनेछ ।
कम्पनीको १ अर्ब १८ करोड ५० लाख रुपियाँ जारी पुँजीमध्ये २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपियाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण सेयर सार्वजनिक निष्काशनका लागि स्वीकृत भएको थियो ।
यसमध्ये ११ लाख ८५ हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दालाई र एक लाख ४२ हजार २०० कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई छुट्याई बाँडफाँट सम्पन्न भइसकेको छ ।
दोस्रो चरणमा कम्पनीले २८ हजार ४४० कित्ता सेयर कर्मचारीका लागि र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रुपियाँ बराबरको ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्री गरिएको हो ।