काठमाडौँ । अमेरिकी प्रविधि दिग्गज अमेजनले कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल पूर्वाधार क्षेत्रमा विशाल लगानी योजना सार्वजनिक गरेको छ। कम्पनीले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार सन् २०२५ भित्र करिब २०० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने तयारी गरेको छ, जसको मुख्य हिस्सा एआई प्रविधिमा खर्चिने बताइएको छ।
यो रकम अघिल्लो वर्षको १२५ अर्ब डलरको लगानीभन्दा निकै बढी हो। तर, लगानी घोषणापछि बजारको प्रतिक्रिया सकारात्मक देखिएन। लगानीकर्ताहरू सतर्क बनेपछि अमेजनको सेयर मूल्य कारोबार समयपछि नै ११ प्रतिशतभन्दा बढीले घट्यो।
सार्वजनिक विवरणअनुसार अमेजनसँगै मेटा, गुगल र माइक्रोसफ्टले सन् २०२५ मा एआई तथा सम्बन्धित प्रविधिमा संयुक्त रूपमा करिब ६५० अर्ब डलर लगानी गर्ने योजना बनाएका छन्। यस दौडमा अमेजन सबैभन्दा ठूलो र आक्रामक लगानीकर्ता बनेको छ। यी कम्पनीहरूको कुल एआई लगानी विश्वका केही देशहरूको अर्थतन्त्रभन्दा पनि ठूलो रहेको विश्लेषण गरिएको छ।
अमेजनका सीईओ एन्डी जासीले एआईलाई भविष्यको अत्यन्त सम्भावनायुक्त क्षेत्रका रूपमा व्याख्या गर्दै यसले दीर्घकालीन रूपमा कम्पनीलाई ठूलो नाफा दिलाउने विश्वास व्यक्त गरेका छन्।
तर, एआई क्षेत्रमा बढ्दो लगानीसँगै सम्भावित ‘एआई बबल’ को चिन्ता पनि बढ्दै गएको छ। बेलायतको केन्द्रीय बैंक ‘बैंक अफ इङ्ग्ल्याण्ड’ ले अमेरिकी प्रविधि कम्पनीहरूको सेयर मूल्य अहिलेको अवस्थाले डटकम बबलअघिको अवस्था झल्काउने चेतावनी यसअघि नै दिइसकेको थियो।
अमेजनका प्रमुख वित्तीय अधिकृत ब्रायन ओल्साभ्स्कीका अनुसार, एआईमा खर्च बढ्दै जाँदा कम्पनीले अन्य क्षेत्रमा खर्च कटौती गर्ने नीति अपनाउनेछ। सोही रणनीतिअनुसार कम्पनीले हालै १६ हजार कर्मचारी हटाएको थियो भने त्यसअघि अक्टोबरमा थप १४ हजार पद कटौती गरिएको थियो।
एआई लगानीको प्रतिस्पर्धामा अन्य प्रविधि कम्पनीहरू पनि तीव्र गतिमा अघि बढिरहेका छन्। मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले सन् २०२५ मा १३५ अर्ब डलरसम्म लगानी गर्ने घोषणा गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब दोब्बर हो। उनले एआई प्रविधिका कारण मानवश्रमको आवश्यकता घट्दै जाने र सन् २०२६ देखि काम गर्ने शैलीमा ठूलो परिवर्तन आउने दाबी गरेका छन्।
गुगलका सीईओ सुन्दर पिचाईले कम्पनीले यस वर्ष १८५ अर्ब डलरभन्दा बढी एआई तथा पूर्वाधार क्षेत्रमा लगानी गर्ने बताएका छन्। माइक्रोसफ्टले ठोस रकम सार्वजनिक नगरे पनि एआई पूर्वाधार र प्रतिभा विकासमा हालसम्म ७२ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको जनाएको छ।
यति ठूलो लगानी योजनाका बाबजुद पनि हालैका दिनहरूमा अमेजन, मेटा, गुगल र माइक्रोसफ्टका सेयर मूल्य लगातार ओरालो लागिरहेका छन्। प्रविधि क्षेत्र समेटिएको एसएन्डपी ५०० सूचकांक पनि बिहीबार १ प्रतिशतभन्दा बढीले घट्दै जनवरीको अन्त्यतिर पुगेको उच्चतम बिन्दुबाट तल झरेको छ।