होटल फरेष्ट इनको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आज माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरेपछि कम्पनीले अब सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हो।

कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत हिस्सा बराबर हुने ४० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो, जसको कुल मूल्य ४० करोड रुपैयाँ हुन्छ। सोमध्ये ४ लाख कित्ता सेयर विदेशमा कार्यरत नेपालीहरूका लागि, दुई लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याई वितरण गरिसकिएको छ।

अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बाँकी ३३ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य ३३ करोड २० लाख रुपैयाँ बराबर हुन्छ। प्रतिकित्ता सेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ। आईपीओमा आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सेयर निष्कासन छिटोमा माघ २६ गते बन्द हुनेछ भने सो अवधिभित्र सबै सेयर बिक्री नभएमा ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार