आईपीओ निकाल्नुअघि एलन मस्कको ‘मास्टर स्ट्रोक’ 

काठमाडौं । विश्वकै धनाढ्य व्यवसायी एलन मस्कले प्रविधि र अन्तरिक्षको क्षेत्रमा एउटा ठूलो जोखिम उठाउँदै आफ्ना दुई प्रमुख कम्पनीहरू स्पेसएक्स र एक्सएआईलाई एकापसमा गाभ्ने निर्णय गरेका छन् ।

मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार एआई कम्पनी ‘एक्सएआई’लाई खरिद गरेको औपचारिक घोषणा गरेको हो ।

मस्कको प्राविधिक सामथ्र्यलाई अझ सुदृढ र एकीकृत बनाउने उद्देश्यले यो कदम चालिएको स्पेसएक्सले स्पष्ट पारेको छ ।

यो विलयपछि अब मस्कको एआई च्याटबट ‘ग्रोक’, उपग्रह सञ्चार सेवा ‘स्टारलिंक’ र सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ एउटै विशाल संरचनाभित्र रहेर काम गर्नेछन् ।

मस्कले भविष्यमा ठूला डाटा सेन्टर र सर्भरहरू अन्तरिक्षबाटै सञ्चालन गर्ने आफ्नो सपनालाई साकार पार्न यो मर्जर (विलय) गरेका हुन् ।

मस्कको यो कदमलाई ‘मास्टर स्ट्रोक’ भनिएको छ । यो कदमले प्रविधिको विकासलाई तीव्र बनाउनुका साथै विश्वभर इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को पहुँचलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

मस्कले यसै वर्षको अन्त्यसम्ममा यो नयाँ ‘सुपर टेक’ कम्पनीलाई सेयर बजारमा सूचीकृत गर्ने योजना बनाएका छन् । कम्पनीको आईपीओ जारी भएपछि सर्वसाधारणले पनि यसमा लगानी गर्न पाउनेछन् ।

एलन मस्कले अन्तरिक्ष, एआई र इन्टरनेटको क्षेत्रमा आफ्नो सम्पूर्ण शक्तिलाई एकीकृत गरी एउटा यस्तो शक्तिशाली साम्राज्य खडा गर्दै छन्, जसले भविष्यको प्रविधिलाई नयाँ दिशा दिनेछ । यूएसन्युजबाट ।

प्रतिक्रिया
सम्बन्धित समाचार