‘मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन’ – प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अब सत्ताको लोभ नभएको बताएका छन् ।

आइतबार एक भिडिओ सन्देश जारी गर्दै उनले सन्तान, जीनवसंगिनी र सहयोद्धाहरू गुमाएपछि आफूलाई अब सत्ताको लोभ नभएको बताएका छन् ।

‘सन्तान, जीवनसंगिनी र सहयोद्धा गुमाएपछि मलाई अब सत्ताको लोभ छैन । मेरो बाँकी जीवन शहीदका सपना र नयाँ पुस्ताको भविष्यका लागि समर्पित छ’, दाहालले भनेका छन्।

उनले आफ्नो जीवनमा एउटा मान्छेले जे-जति गुमाउन सक्छ, ती सबै कुरा गुमाइसकेको पनि स्मरण गराएका छन् ।

आफूले गरेको संघर्ष व्यक्तिगत नभएर हजारौं शहीदहरूको सपना पूरा गर्ने यात्रा भएकोले परिवर्तन गराएरै छोड्ने दाबी दाहालले गरेका छन् ।

दाहालले आफू हार मान्न तयार नरहेको पनि बताएका छन् । ‘म हार मान्न तयार छैन। काम सकिएको छैन। नयाँ पुस्तालाई स्वागत गर्छौं’, उनले भने, ‘हरेक चम्किलो चिज हिरा हुँदैन, सामाजिक सञ्जालका भ्रमले बहकाउन सक्छ, म स्वतन्त्र चिन्तनका लागि अपिल गर्न आएको छु, भोट माग्न होइन।’

प्रतिक्रिया
सम्बन्धित समाचार