काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो मुनाफामा उल्लेख्य फड्को मारेको जनाएको छ । बैंकद्वारा बिहीबार प्रकाशित विवरण अनुसार, समीक्षा अवधिमा बैंकले एक अर्ब ३२ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५०.२० प्रतिशतको विशाल वृद्धि हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले ५३ करोड दुई लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
आम्दानीका सूचक र सञ्चालन नाफामा सुधार बैंकको व्यवसाय विस्तारसँगै आम्दानीका स्रोतहरूमा पनि सकारात्मक प्रभाव देखिएको छ । बैंकको खुद ब्याज आम्दानी गत वर्षको चार अर्ब ११ करोड ६० लाख रुपैयाँबाट वृद्धि भई चार अर्ब ३२ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी पाँच अर्ब ९७ करोड ३३ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफामा पनि उल्लेख्य सुधार आएको छ । गत वर्ष ७५ करोड ५४ लाख रुपैयाँ रहेको यस्तो नाफा यस वर्ष एक अर्ब ९६ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।
खराब कर्जा नियन्त्रण र प्रतिसेयर आम्दानी बैंकले आफ्नो सम्पत्तिको गुणस्तरमा सुधार गर्दै खराब कर्जा (एनपीएल)लाई उल्लेखनीय रूपमा घटाउन सफल भएको छ । अघिल्लो वर्षको ४.५० प्रतिशतको तुलनामा यस वर्ष खराब कर्जा ३.४५ प्रतिशतमा झरेको छ । नाफामा आएको उछालसँगै लगानीकर्ताहरूको प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि ठूलो सुधार देखिएको छ । बैंकको प्रतिसेयर आम्दानी ७.१९ रुपैयाँबाट बढेर १७.९८ रुपैयाँ कायम भएको छ । हाल बैंकको प्रतिसेयर नेटवर्थ २११.२३ रुपैयाँ रहेको छ ।