३१.८४ प्रतिशतले बढ्यो विकास बैंकहरुको नाफा

काठमाण्डौ । विकास बैंकहरुको वित्तीय सूचकमा सकारात्मक सुधार देखिएको छ । सञ्चालनमा रहेका १६ विकास बैंक मध्ये सप्तकोशी डेभलपमेन्ट बैंक बाहेक सबैले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

१५ विकास बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ३ अर्ब ४० करोड ७४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३१.८४ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म विकास बैंकहरुले २ अर्ब ५८ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

बैंकहरुको खुद ब्याज आम्दानीमा सुधार देखिदा र खराब कर्जाको अवस्था सुधारिँदा नाफा बढ्न पुगेको हो । साथै नेपाल राष्ट्र बैंकले कर्जा पुनर्संरचनाको व्यवस्थाले पनि विकास बैंकहरुको नाफा वृद्धिमा टेवा पुगेको छ ।

सो अवधिसम्म सालपा विकास बैंक, सिन्धु विकास बैंक र नारायणी डेभलपमेन्ट बैंक घाटामा देखिएका छन् भने १२ बैंक नाफामा रहेका छन् । नाफामा रहेका बैंकहरुको मुनाफा गत आवको तुलनामा उल्लेख्य बढ्न पुगेको छ ।

सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले ६७ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३३.५७ प्रतिशत बढी हो ।

त्यस्तै, गरिमा विकास बैंकले पनि ६३ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १५.६३ प्रतिशत बढी हो । तेस्रो बढी नाफा कमाउने बैंकमा शाइन रेसुङ्गा रहेको छ । यो बैंकले ४० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा ६ विकास बैंकले खराब कर्जा अनुपात ९एनपीएल० घटाउन सफल भएका छन् । जेनजी आन्दोलनका कारण बैंकहरुको कर्जा असुली प्रभावित बन्दा एनपीएल ह्वात्तै बढेको थियो । तर दोस्रो त्रैमाससम्म आइपुग्दा ६ बैैंकले पनि यस्तो अवस्थामा सुधार ल्याउन सफल भएका छन् ।

एनपीएल घटाउने बैंकहरुमा गरिमा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र सिन्धु विकास बैंक रहेका छन् ।

सो अवधिसम्म सबैभन्दा धेरै एनपीएल नारायणी डेभलपमेन्ट बैंकको ५७.४८ प्रतिशत रहेको छ भने सबैभन्दा थोरै एनपीएल मितेरी डेभलपमेन्ट बैंकको १.२३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार