काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन आयोगको अनुरोधमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल तथा उमेदवारहरूका लागि निर्वाचन अभियानसम्बन्धी आर्थिक कारोबार गर्न छुट्टै बैंक खाता खोल्ने विशेष व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले माघ १२ गते सार्वजनिक सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई यससम्बन्धी खाता खोल्न भनिएको छ ।
निर्वाचनका बेला हुने आर्थिक कारोबारलाई थप पारदर्शी बनाउने र उमेदवारहरूलाई आफ्नो चुनावी खर्चको हिसाब राख्न सहज हुने अपेक्षासहित यस्तो व्यवस्था गरिएको बताइएको छ ।
निर्वाचन आयोगको अनुरोधबमोजिम जारी गरिएको यस व्यवस्थाअनुसार पार्टी तथा उमेदवारहरूको चुनावी खर्च र आम्दानीको कारोबारका लागि छुट्टै बैंक खाता खोल्न पाउने व्यवस्था गरिएको हो । जसअन्तर्गत आयोगले प्रत्येक राजनीतिक दल, राजनीतिक दलका तर्फबाट प्रतिनिधित्व गर्ने उमेदवारहरू (समानुपातिक उमेदवार समेत) र स्वतन्त्र उमेदवारहरूलाई चुनावी हिसाब-किताब खातामार्फत गर्न भनिएको छ ।