काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूह राष्ट्रिय भेलाको तयारीमा लागेको छ । विशेष महाधिवेशनबाट किनारा लागेको उक्त समूह ११ माघमा हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनपछि राष्ट्रिय भेलाको तयारीमा लागेको हो ।
राष्ट्रिय भेलाको तयारीका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूसँग परामर्शमा छन् । खड्कासँग शनिबारमात्रै भेट गरेका एक निवर्तमान केन्द्रीय सदस्यले आफूहरू राष्ट्रिय भेलाको तयारीमा लागेको जानकारी दिए ।
पुसमा सम्पन्न विशेष महाधिवेशनपछि विकसित पार्टीको आन्तरिक राजनीति र त्यसअघिको परिस्थितिका बारेमा समूहका नेता–कार्यकर्ताहरूलाई जानकारी दिन र आगामी रणनीति तय गर्न भेलाको तयारी भइरहेको उनको भनाइ छ ।